रास्वपा सांसद डा. अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्रा सुरु
- ३० कार्तिक २०८३
- १ मिनेटको पढाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले जनताका समस्या, गुनासा र सुझाव प्रत्यक्ष रूपमा बुझ्न सोमबार जनकपुरबाट मेची–महाकाली पदयात्रा सुरु गरेका छन्। जनकपुरधामस्थित जानकी मन्दिरमा रास्वपा सभापति रवि लामिछानेले उक्त पदयात्राको शुभारम्भ गरेका हुन्। मकर सङ्क्रान्तिका दिन महाकाली नदी किनारमा पुगेर यो यात्रा सम्पन्न हुनेछ।
देश र समाजलाई जोड्ने तथा सबै प्रकारका द्वन्द्व अन्त्य गर्ने उद्देश्य राखिएको यस अभियानमा डा. सिंहले दैनिक ५ घण्टा हिँड्ने र ७ घण्टा जनताका कुरा सुन्ने योजना बनाएका छन्। उनी हरेक २० देखि २५ किलोमिटरको दूरीमा पर्ने बस्तीहरूमा पुगेर मजदुर, किसान, महिला, दलित लगायत सबै वर्गसँग रोजगारी र जनजीविकाका विषयमा प्रत्यक्ष संवाद गर्नेछन्।
पदयात्राबाट सङ्कलन गरिएका समस्या र सुझाव समेटेर तीनवटा प्रतिवेदन तयार गरिनेछ। जसमध्ये एक प्रति प्रधानमन्त्रीलाई, एक प्रति रास्वपा सभापति लामिछानेलाई बुझाइने र अर्को प्रति आफूले राखेर संसद्मा जनताको आवाज उठाउने डा. सिंहले जानकारी दिएका छन्।