१ मंसिर २०८३, मङ्लबार
17 November 2026, Tuesday

हात्तीबाट धान जोगाउन झापामा सुरक्षाकर्मी र जनप्रतिनिधि खेतमा

हात्तीबाट धान जोगाउन झापामा सुरक्षाकर्मी र जनप्रतिनिधि खेतमा

झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा जङ्गली हात्तीबाट पाकेको धान जोगाउन प्रहरी र जनप्रतिनिधि आफैँ खेतमा पुगेर धान काट्न थालेका छन्। आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसान एकै ठाउँमा जुटेर धान काटेका हुन्।

हात्तीको आवतजावत बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले किसानलाई समयमै धान भित्र्याउन आग्रह गरेको थियो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले धान भित्र्याउने बेलासम्म हात्ती गाउँ पस्न नदिन थप सुरक्षाकर्मी खटाउने प्रतिबद्धता जनाउँदै छिटो बाली भित्र्याउन किसानलाई आग्रह गरेका थिए।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले हात्तीको डरले किसान आफ्नो पाकेको बाली भित्र्याउन समस्यामा परेकाले सबै मिलेर धान काट्ने अभियान चलाएको बताए। उनले किसानको बाली सुरक्षित रूपमा भित्र्याउन र हात्तीबाट हुने क्षति कम गर्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

शुक्रबार बुद्धशान्ति गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली अनुगमनका लागि बाहुनडाँगी पुगेको थियो। सो क्रममा किसानले कम्तीमा पाँच दिन हात्ती रोकिदिए धान सुरक्षित रूपमा भित्र्याउन सकिने बताएपछि प्रशासनले सुरक्षाकर्मी बढाएर किसानलाई सघाउन थालेको हो।