५ मंसिर २०८३, शनिबार
21 November 2026, Saturday

मध्यपुरथिमिमा नेपाल–जापान सांस्कृतिक महोत्सव

मध्यपुरथिमिमा नेपाल–जापान सांस्कृतिक महोत्सव

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा भक्तपुरको मध्यपुरथिमिमा नेपाल–जापान सांस्कृतिक महोत्सव आयोजना गरिएको छ। मध्यपुरथिमि नगरपालिकाले चपाचोस्थित पोटरी स्क्वायरमा आयोजना गरेको महोत्सवको नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल–जापानमैत्री सङ्घ जापानका अध्यक्ष हिरोमी इस्हिओकाले संयुक्त रूपमा उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठले यो महोत्सव दुई देशबीचको सात दशक लामो मित्रता, विश्वास र आपसी सहकार्यको उत्सव भएको बताए। भौगोलिक रूपमा टाढा भए पनि सांस्कृतिक सभ्यता, परम्परा र आत्मीयताले नेपाल र जापान नजिक रहेको उनको भनाइ छ। ७५० भन्दा बढी मूर्त तथा अमूर्त सम्पदा रहेको मध्यपुरथिमिको मौलिक पहिचान विश्वमाझ चिनाउँदै पर्यटन प्रवर्द्धन गर्नु र जापानको आधुनिक विकासबाट सिक्नु महोत्सवको उद्देश्य रहेको उनले उल्लेख गरे।

नेपाल–जापानमैत्री सङ्घका अध्यक्ष हिरोमीले गौतम बुद्धले देखाएको बाटो हिँडेर जापानले विकासमा फड्को मारेको बताए। नेपालीको मित्रवत् व्यवहारले आफूलाई पनि नेपाली बन्न रहर जागेको उल्लेख गर्दै उनले दुई देशबीचको मित्रता युगौँयुगसम्म रहने विश्वास व्यक्त गरे।

आज रातिसम्म चल्ने महोत्सवमा २१ वटा प्रदर्शनी कक्ष राखिएका छन्। ती कक्षमा हस्तकला, काष्ठकला, मूर्तिकला तथा नेपाल र जापानका मुद्रा, सिक्का र नोटहरू प्रदर्शनीमा छन्। महोत्सवमा नगरपालिकाका तर्फबाट दाफा भजन, बाँसुरी बाजा, महाकाली नाच, धिमेबाजा तथा जापानका तर्फबाट विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको छ।