टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
- ०२ मंसिर २०८३
- १ मिनेटको पढाई
रसुवाको टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन्। गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीबाट विस्थापित ६८ घरधुरीमध्ये ४८ जना मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बसेका हुन्।
बाढीपछि केही पीडित कोठा भाडामा लिएर बसेका छन् भने काठमाडौँमा बस्न नसकेकाहरू गाउँ फर्किएका छन्। स्थानीय कामीनुर्पु तामाङले आफ्नो जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउन गाउँ फर्किएको बताए। करिब ९० प्रतिशत पीडित काठमाडौँमा बस्न सक्ने अवस्थामा नरहेको उल्लेख गर्दै उनले खेतीकिसानी र पशुपालन गरेर जीवनयापन गर्ने सोचले गाउँ फर्किएको जानकारी दिए।
सरकारले अस्थायी बसोबासको टुङ्गो नलगाउँदा पीडित अन्योलमा परेको उनको भनाइ छ। विभिन्न सङ्घसंस्थाले थप टेन्ट र राहत सामग्री उपलब्ध गराउने आश्वासन दिएको तामाङले बताए।
अर्का स्थानीय पेमा दोर्जे घलेका अनुसार यसअघि मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिला गरी ४११ जना बाढीपीडित आश्रित थिए। तीमध्ये १५१ बालबालिका र ८० वृद्धवृद्धा थिए। सरकारले अस्थायी बसोबास कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने ठोस निर्णय नगर्दा पीडित अन्योलमा परेको उनले बताए।