नर्थक्यारोलिनामा आयोजित दशैँ–तिहार कपको उपाधि डाँफे एफसीलाई
- ०२ मंसिर २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको नर्थक्यारोलिनास्थित आरटिपी क्षेत्रमा क्रियाशील फुके नेपाली फुटबल क्लबले आयोजना गरेको दशैँ–तिहार कपको उपाधि डाँफे एफसीले जितेको छ। एपेक्सको प्लेजेन्ट पार्कमा शनिबार भएको फाइनल खेलमा डाँफेले सारा एफसीलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो।
प्रतियोगितामा डाँफे एफसीका खेलाडी प्रविण खनियाँले सर्वाधिक गोलकर्ताको उपाधि पाए। विजेता तथा उपविजेता टोलीलाई नेपालबाट आएका वरिष्ठ पत्रकारद्वय मनोज दाहाल र गिरिश भट्टराईले कप र ट्रफी वितरण गरे।
कार्यक्रमका विशेष अतिथि पत्रकार दाहालले प्रवासमा आयोजित यस्ता सद्भावनापूर्ण प्रतियोगिताले नेपाली समुदायमा प्रेम, भ्रातृत्व र आपसी मित्रता बढाउने बताए। नेपालबाट आएर रमाइलो कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै उनले विजेता र उपविजेता दुवै टोलीलाई बधाई दिए।
फाइनल खेलमा अशोक सुवेदीले मुख्य रेफ्रीको भूमिका निभाए भने लाइन्सम्यानमा रेसम बस्नेत र मनोज तिमिल्सिना थिए। क्लबका संस्थापक आङछिरिङ शेर्पा र व्यवस्थापन समितिका सदस्य विजय उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए। खेल समापनपछि क्लबले आफ्ना सदस्य र परिवारका लागि रात्रिभोजको आयोजना गरेको थियो।