इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८ अर्ब ३० करोड डलर पुग्यो
- ०४ मंसिर २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड डलर खर्च गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका बजेट अधिकारी आर्थर मिलरले बिहीबार अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको सुनुवाइमा यो जानकारी दिएका हुन्।
नोभेम्बर १३ सम्मको यो खर्च विवरणमा मध्यपूर्वका विभिन्न क्षेत्रमा इरानी आक्रमणबाट क्षति पुगेका अमेरिकी सैन्य संरचनाको मर्मत खर्च समावेश गरिएको छैन। यो रकम अगस्ट १ सम्मका लागि अमेरिकी कंग्रेसको बजेट कार्यालयले अनुमान गरेको ३८ अर्ब डलरभन्दा करिब २७ प्रतिशत बढी हो।
मिलरका अनुसार उक्त रकम हतियार, गोलाबारुद, सैन्य उपकरण प्रतिस्थापन र सैन्य कारबाहीमा खर्च भएको हो। क्षतिग्रस्त सैन्य संरचनाको मर्मतमा लाग्ने थप खर्चबारे भने आफूलाई यकिन जानकारी नभएको उनले बताए। समितिका अध्यक्ष तथा रिपब्लिकन सांसद रोजर विकरले मर्मतसम्भार खर्चको विवरण छिट्टै उपलब्ध गराउन आग्रह गरेका छन्।
यसअघि वाल स्ट्रिट जर्नलले पेन्टागन स्रोतलाई उद्धृत गर्दै मध्यपूर्वमा क्षति पुगेका अमेरिकी सैन्य संरचना मर्मत गर्न पाँचदेखि १५ अर्ब डलरसम्म खर्च लाग्न सक्ने जनाएको थियो।