७ मंसिर २०८३, सोमवार
23 November 2026, Monday

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी दिउँसो २:०५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँदिल्ली गएका हुन्। प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले बिदाइ गरे।

प्रधानमन्त्रीको औपचारिक भ्रमण टोली ३५ सदस्यीय रहेको छ। प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी छन्। यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग सचिव रुद्रसिंह तामाङ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबसहित विभिन्न मन्त्रालयका सहसचिव, उपसचिव, तीन सुरक्षाकर्मी र तीन सञ्चारकर्मी टोलीमा छन्। निजी क्षेत्रका उद्यमी–व्यवसायी र सञ्चारकर्मीसमेत आफ्नै व्यवस्थापनमा भ्रमणमा सहभागी भएका छन्।

भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार बिहान उनले नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन्। सोही दिन भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट र समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका छ।

भ्रमणका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासमा सहकार्य बढाउने विषयमा छलफल हुनेछ। यस्तै, सम्पर्क सञ्जाल र ऊर्जासम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गरिनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ।

राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह भोलि साँझ ६:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनेछन्।