७ मंसिर २०८३, सोमवार
23 November 2026, Monday

प्रधानमन्त्रीको भारत भ्रमणसँगै हवाई मार्ग खुल्ने आशामा लुम्बिनी

प्रधानमन्त्रीको भारत भ्रमणसँगै हवाई मार्ग खुल्ने आशामा लुम्बिनी

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गबारे सहमति हुने आशा लुम्बिनी क्षेत्रमा बढेको छ। नेपाल र भारतबीच हवाई मार्ग प्रयोगमा सहमति जुटे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने र पर्यटन तथा व्यापार बढ्ने विश्वास स्थानीय व्यवसायीले गरेका छन्।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश बिन्दु तथा महेन्द्रनगरलगायत मार्गलाई दुईतर्फी बनाउन सहमति भए यस क्षेत्रको अर्थतन्त्रमा नयाँ सम्भावना खुल्ने अपेक्षा छ। साथै, प्रतिकूल मौसममा उडान तथा अवतरण सहज बनाउन उपकरणमा आधारित अवतरण प्रणाली सञ्चालनका लागि पनि भारतीय हवाई क्षेत्रको समन्वय आवश्यक छ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले भैरहवाबाट भारतका दिल्ली, वाराणसी र अयोध्याजस्ता सहरमा सिधा उडान गर्न सके पर्यटन र व्यापारमा ठुलो परिवर्तन आउने बताए। होटल सङ्घ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष चन्द्र थापाले नियमित उडान नहुँदा निजी क्षेत्रले गरेको लगानीबाट प्रतिफल नआएको गुनासो गरे। चेम्बर अफ कमर्स रुपन्देहीका अनुसार विमानस्थल सञ्चालन हुने आशामा यस क्षेत्रका होटल, रिसोर्ट र पर्यटन पूर्वाधारमा निजी क्षेत्रको एक खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।

सरकारले ३५ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर निर्माण गरेको यो विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भएको थियो। विमानस्थलको सूचना शाखाका अनुसार हालसम्म ६९ हजार ३७७ यात्रुले यहाँबाट सेवा लिएका छन्। विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहले सबै भौतिक संरचना र प्राविधिक तयारी पूरा भइसकेकाले अब हवाई मार्गको सहजीकरण र नियमित उडानको पहल आवश्यक रहेको बताए।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक उमेशचन्द्र रिजालले धार्मिक र सांस्कृतिक सम्बन्ध रहेका भारतीय सहरसँग सिधा हवाई सम्पर्क जोडिए लुम्बिनी आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने धारणा राखे। भारतसँग हवाई मार्गमा ठोस सहमति जुटे पश्चिम नेपालको उद्योग, व्यापार र रोजगारीमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।