५ मंसिर २०८३, शनिबार
21 November 2026, Saturday

एआईको नियन्त्रण सीमित कम्पनीको हातमा हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

एआईको नियन्त्रण सीमित कम्पनीको हातमा हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

जेनेभा – संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र नियन्त्रण सीमित प्रविधि कम्पनीहरूको हातमा केन्द्रित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीबार जेनेभामा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै उनले विश्वको अधिकांश एआई क्षमता, तथ्याङ्क र पूर्वाधार केही सीमित व्यक्तिको नियन्त्रणमा रहेको बताए ।

विश्वका पाँच प्रविधि कम्पनीसँग ७० प्रतिशतभन्दा बढी एआई क्षमताको स्वामित्व रहनु लोकतान्त्रिक सहभागिताका दृष्टिले गम्भीर विषय भएको टर्कको भनाइ छ । उनले निगरानी, सन्तुलन र जवाफदेहिताको अभावमा भविष्यको प्रविधिलाई सीमित व्यक्तिले मध्ययुगीन शैलीमा चलाइरहेको टिप्पणी गरे ।

एआईको अनियन्त्रित प्रयोगले सर्वसाधारणको अधिकार र स्वतन्त्रतामा असर पार्न सक्ने उनको चेतावनी छ । पक्षपाती प्रविधिले समाजमा विभेद र अन्याय बढाउन सक्ने तथा यातायात, खाद्य आपूर्ति र स्वास्थ्यजस्ता महत्त्वपूर्ण क्षेत्रका पूर्वाधार अवरुद्ध हुन सक्ने उनले बताए ।

टर्कले एआईको विकास र प्रयोगलाई मानवअधिकारमा आधारित नियमनको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले प्रमुख प्रविधि कम्पनीहरूलाई प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्न पत्राचार गरेको जानकारीसमेत दिए । दूध बजारमा पुर्‍याउनुअघि परीक्षण र नियमन आवश्यक भएजस्तै सम्भावित जोखिमबाट बच्न एआईमा पनि कडा नियमन अपरिहार्य रहेको उनको भनाइ छ । एआई प्रणालीको विकास गर्दा मानवअधिकारको विश्वव्यापी घोषणापत्रलाई आधार बनाउनुपर्ने सुझाव पनि उनले दिएका छन् ।