७ मंसिर २०८३, सोमवार
23 November 2026, Monday

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसमा द्विपक्षीय वार्ता सम्पन्न

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसमा द्विपक्षीय वार्ता सम्पन्न

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। मङ्सिर ७ गते भएको उक्त वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै आर्थिक सहकार्य, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, पूर्वाधार विकास र सीमापार सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल भएको छ।

वार्तामा दुवै देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक समृद्धिका क्षेत्रमा सहकार्य बढाउने सहमति भएको छ। साथै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा समेत विचार आदानप्रदान गरिएको छ।

नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई र राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए। भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिस्रीलगायतको सहभागिता थियो। प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त उद्घाटन, सातामा एक दिन सञ्चालन हुने

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट झण्डा फहराएर ‘जनकपुरधाम–अयोध्या क्यान्ट एक्सप्रेस’ रेल सेवाको संयुक्त उद्घाटन गरेका छन्। अयोध्याबाट जनकपुरधामसम्मको करिब ६०४ किलोमिटर दूरी यो रेलले करिब १९ घण्टामा पूरा गर्नेछ।

सातामा एक दिन दुवैतर्फ सञ्चालन हुने यो रेल जयनगर, मधुबनी, सीतामढी, रक्सौल, गोरखपुर हुँदै अयोध्या पुग्नेछ। तालिकाअनुसार जनकपुरधामबाट शनिबार दिउँसो १:१० बजे छुट्ने रेल आइतबार बिहान अयोध्या पुग्नेछ भने अयोध्याबाट सोमबार साँझ ५:५० बजे छुटेर मङ्गलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ।

यसअघि भारतबाट रेलमा आउने यात्रुले जयनगरमा सीमा प्रक्रिया पूरा गरी रेल परिवर्तन गर्नुपर्ने बाध्यता थियो। अब सीमा जाँचपछि एउटै रेलमा सिधै यात्रा गर्न सकिने भएकाले धार्मिक पर्यटन र दुई देशबीचको आवागमनमा ठुलो सहजता आउने अपेक्षा गरिएको छ।

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट संयुक्त शिलान्यास गरेका छन्। चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा बन्ने यस आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ।

भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनीमार्फत निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा यो आयोजना बन्न लागेको हो। पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको आयोजनाबाट उत्पादित कुल बिजुलीको २१ प्रतिशत नेपालले निःशुल्क पाउनेछ भने २५ वर्षको व्यावसायिक सञ्चालनपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण हुनेछ।

अरुण–३ आयोजनाबाट निस्किएको पानीलाई करिब १७.३ किलोमिटर लामो सुरुङमार्फत प्रयोग गरी तल्लो अरुणबाट विद्युत् उत्पादन गरिनेछ। आयोजनाबाट प्रत्यक्ष प्रभावित २६८ परिवारमध्ये हालसम्म २५३ परिवारलाई करिब ९९ करोड ९८ लाख रुपैयाँ मुआब्जा वितरण भइसकेको छ।