कोप–३१ निष्कर्षविहीन, पर्वतीय मुद्दालाई स्थापित गर्ने बाटो खुल्यो
- ०७ मंसिर २०८३
- १ मिनेटको पढाई
टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) ठोस सहमतिबिना नै सकिएको छ। नोभेम्बर ९ बाट सुरु भएको सम्मेलन निर्धारित समयभन्दा दुई दिन ढिलो गरी नोभेम्बर २२ राति निष्कर्षविहीन टुङ्गिएको हो। यद्यपि, नेपालले उठाएको पर्वतीय मुद्दाले प्राथमिकताका साथ छलफलमा प्रवेश पाउँदा आगामी दिनमा यसले संस्थागत मान्यता पाउने बाटो खुलेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालका अनुसार नेपालले इतिहासमै पहिलोपटक पर्वतीय मुद्दालाई छुट्टै कार्यसूची बनाउन लिखित प्रस्ताव पेस गरेको थियो। भोटेकोशी विपद्को पीडासमेत समेटेर नेपाल, भुटान र किर्गिस्तानले संयुक्त रूपमा यो विषय अघि बढाएका थिए। प्रस्तावमा अनुसन्धान, पूर्वसूचना प्रणाली र संवादका कार्यक्रम समेटिएका थिए।
सम्मेलनको अन्तिम चरणमा तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने र जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा युरोपेली सङ्घसहितका राष्ट्रबीच मतभेद देखियो। समग्र निर्णय प्रक्रियामै सहमति जुट्न नसकेपछि नेपालको प्रस्ताव पनि पारित हुन नसकेको सहसचिव ढकालले बताए। नेपालको प्रस्ताव अस्वीकृत नभई समग्र सहमतिको अभावले मात्र रोकिएको उनको भनाइ छ।
सम्मेलनमा नेपालले स्थापना गरेको ‘नेपाल कक्ष’ मा ४७ भन्दा बढी कार्यक्रम र २५० भन्दा बढी वक्ताको सहभागिता रह्यो, जसको अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा भएको छ। यसैबीच, राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले सम्मेलनमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताए। उनले जलवायु सङ्कट गहिरिँदै गएकाले अब प्रतिबद्धताभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गरे।