फ्रान्समा प्रदर्शन चर्किएपछि ७० हजार सुरक्षाकर्मी सडकमा
- ०७ कार्तिक २०८३
- १ मिनेटको पढाई
फ्रान्समा बढ्दो महँगी र शैक्षिक अवस्थाको विरोधमा चर्किएको प्रदर्शन नियन्त्रण गर्न देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ। विद्यार्थीहरूले सुरु गरेको आन्दोलनमा सर्वसाधारण पनि मिसिएपछि अवस्था तनावपूर्ण बनेको हो।
गृहमन्त्री लरेन्ट नुनेजले सामाजिक सञ्जालबाट हिंसा भड्काउने प्रयास भइरहेकाले शनिबार ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाउने जानकारी दिए। गत साता भएको आगजनी र लुटपाटमा संलग्न २१७ जनालाई अदालतले जेल सजाय सुनाइसकेको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले आपराधिक गतिविधिमा संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
सम्भावित झडपलाई ध्यानमा राख्दै ओर्लियन्स, लियोन, पेरिस र मार्सेजस्ता सहरमा प्रदर्शनमा रोक लगाइएको छ। पेरिसको प्रख्यात लुभ्र सङ्ग्रहालय पनि बन्द गरिएको छ। मानवअधिकारवादी संस्थाहरूले भने शान्तिपूर्ण प्रदर्शनमा प्रतिबन्ध लगाउने सरकारी कदमको विरोध गरेका छन्।
फ्रान्समा राष्ट्रपतीय निर्वाचन हुन अब छ महिना मात्र बाँकी छ। अहिलेको तनावपूर्ण अवस्थाले अतिदक्षिणपन्थी नेतृ मरिन ले पेनको राजनीतिक प्रभाव बढाएको छ। हालैको सर्वेक्षणले आगामी चुनावमा उनले सहजै जित हासिल गर्न सक्ने देखाएको छ।