८ कार्तिक २०८३, आइतवार
25 October 2026, Sunday

फ्रान्समा महँगीविरुद्धको प्रदर्शन उग्र, दुई दिनमा १,३१४ प्रदर्शनकारी पक्राउ

फ्रान्समा महँगीविरुद्धको प्रदर्शन उग्र, दुई दिनमा १,३१४ प्रदर्शनकारी पक्राउ

पेरिस, फ्रान्स- फ्रान्समा जीवनयापनको उच्च लागत (महँगी) को विरोधमा भइरहेको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले गत शुक्रबार र शनिबार गरी देशभरबाट एक हजार ३१४ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ। आन्दोलनकारी र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा ५३ जना प्रहरी र केही प्रदर्शनकारी गम्भीर घाइते भएका छन्।

फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार देशका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनका क्रममा व्यापक हिंसा भड्किएको थियो। सहरका विभिन्न स्थानमा आगजनी र तोडफोड भएपछि प्रहरीले ७५ वटा आगजनीका घटनालाई नियन्त्रणमा लिएको थियो। यसैगरी, प्रदर्शनको फाइदा उठाउँदै २४ वटा पसलहरू लुटिएका छन्। मन्त्रालयले घटनामा संलग्नहरूमाथि थप अनुसन्धान सुरु गरिएको जनाएको छ।

झडपका क्रममा सुरक्षाकर्मीका साथै प्रदर्शनकारीतर्फ पनि ठूलो मानवीय क्षति पुगेको छ। टुलुज सहरमा भएको प्रदर्शनमा एक २० वर्षीय युवकको दाहिने हातमा गोली लाग्दा उनले केही औँला गुमाएका छन्। त्यस्तै, क्लर्मोन्ट–फेरान्ड र पोइतियर्समा पनि प्रदर्शनकारीहरू गम्भीर घाइते भएका छन्, जसमध्ये एक जनाको आँखामा गम्भीर चोट लागेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आगामी अप्रिल र मे महिनामा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको मुखैमा भड्किएको यस हिंसाले फ्रान्सको राजनीतिक माहोललाई तताएको छ। वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोँको दुई कार्यकाल सकिन लागेको अवस्थामा लगातार दोस्रो सप्ताहन्तमा भएको यो अशान्तिले आगामी नेतृत्व चयनमा समेत प्रभाव पार्न सक्ने विश्लेषकहरूको अनुमान छ।

शनिबार रातिदेखि स्थिति केही शान्त रहेको बताइए पनि प्रदर्शनकारीहरूले आफ्ना माग पूरा नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने चेतावनी दिएका छन्। प्रशासनले भने सुरक्षा व्यवस्था कडा पार्दै हिंसात्मक गतिविधि नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेको छ।