फ्लोरिडाको विश्वविद्यालय नजिकै गोली चल्यो, ६ बालबालिकासहित १२ जना घाइते
- ०८ कार्तिक २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको फ्लोरिडा ए एन्ड एम विश्वविद्यालयको रंगशाला नजिकै शनिबार राति गोली चल्दा ६ बालबालिकासहित १२ जना घाइते भएका छन्। तल्लाहस्सीका प्रहरी प्रमुख लरेन्स रेभेलले ११ जनालाई प्रत्यक्ष गोली लागेको र एक जना भाग्ने क्रममा घाइते भएको बताए। घाइते हुनेमा सबैभन्दा कान्छो ११ वर्षका बच्चा छन्।
प्रहरीका अनुसार दुई वा तीन जनाबीचको आपसी झगडापछि एक जनाले मात्रै गोली चलाएको अनुमान छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ, जसमा एक नाबालिग पनि छन्। बाँकीको अवस्था भने स्थिर छ। घाइतेमध्ये एक जना सोही विश्वविद्यालयका विद्यार्थी भएको प्रहरीले जनाएको छ।
शनिबार राति करिब ८ बजे फुटबल खेलको उत्सव चलिरहेको बेला यो घटना भएको हो। अत्यधिक भीडभाडका कारण उद्धारमा कठिनाइ भएपछि प्रहरी आफैँले घाइतेहरूलाई बोकेर अस्पताल पुर्याएका थिए। हालसम्म गोली चलाउने व्यक्ति पक्राउ परेका छैनन् भने प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।