अनाथ बालबालिकाको तथ्याङ्क राख्न ‘आइकेअर’ प्रणाली लागू गरिँदै, सुझाव सङ्कलन सुरु
- १३ कार्तिक २०८३
- १ मिनेटको पढाई
अभिभावकसँग बस्न नसक्ने बालबालिकाको तथ्याङ्क राख्न नेपालमा अन्तर्राष्ट्रिय प्रणाली ‘आइकेअर’ लागू गर्न लागिएको छ। यसका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयले सरोकारवालाबाट सुझाव लिन सुरु गरेको छ। बिहीबार कैलालीको धनगढीमा कार्यक्रम गर्दै यसको सुरुआत गरिएको हो।
युनिसेफको सहयोगमा लागू गर्न लागिएको यो प्रणालीले अनाथालय, बालगृह र संरक्षण गृहमा रहेका बालबालिकाको एकीकृत विवरण राख्न मद्दत गर्नेछ। राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख ढुण्डीराज लामिछानेले अन्तर्राष्ट्रियस्तरमै तुलना गर्न मिल्ने र भरपर्दो तथ्याङ्क तयार गर्न यो काम थालिएको बताए। यो प्रणालीलाई संयुक्त राष्ट्रसङ्घले सन् २०२६ को मार्चमा अनुमोदन गरेको थियो।
यस प्रणालीअन्तर्गत बालबालिकाको हेरचाहलाई पारिवारिक, आवासीय र स्वतन्त्र जीवनयापन गरी तीन भागमा बाँडिनेछ। सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्टले यस्तो तथ्याङ्कले बालबालिका लक्षित नीति तथा कार्यक्रम बनाउन सहज हुने बताए। तथ्याङ्कलाई भरपर्दो बनाउन देशैभरबाट विवरण सङ्कलन गर्ने तयारी छ।