११ कार्तिक २०८३, बुधबार
28 October 2026, Wednesday

जलवायु विपद् रोक्न अन्तरिक्ष सहकार्य गर्न नेपालको प्रस्ताव

जलवायु विपद् रोक्न अन्तरिक्ष सहकार्य गर्न नेपालको प्रस्ताव

नेपालले जलवायु परिवर्तनबाट हुने विपद् रोक्न एसिया–प्रशान्त क्षेत्रमा अन्तरिक्ष प्रविधिको प्रयोग र सहकार्य गर्न प्रस्ताव गरेको छ। थाइल्यान्डको बैंककमा भएको सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको तर्फबाट यस्तो प्रस्ताव राखेका हुन्।

मन्त्री श्रेष्ठले जलवायु जोखिम कम गर्न मुख्य तीनवटा प्रस्ताव राखे। उनले हिमाली क्षेत्र र हिमतालको अवस्था बुझ्न भूउपग्रहबाट निरन्तर निगरानी गर्नुपर्ने बताए। प्राप्त तथ्याङ्कलाई विपद् अगावै पूर्वसूचनाको रूपमा प्रयोग गर्नुपर्ने र आफ्नै भूउपग्रह नभएका देशले पनि यस्तो सूचनामा समान पहुँच पाउनुपर्ने उनको भनाइ छ। तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई समयमै सूचना दिएर मात्र ज्यान बचाउन सकिने उनले स्पष्ट पारे।

नेपालले विपद् व्यवस्थापनमा गरिरहेको कामबारे जानकारी दिँदै श्रेष्ठले बाढी र पहिरोको जोखिममा रहेका लाखौँ नागरिकलाई मोबाइलमा सन्देश (एसएमएस) पठाएर सुरक्षित स्थानमा सारिएको बताए। सडक नपुगेका दुर्गम ठाउँमा ड्रोन र भूउपग्रहको तस्बिर हेरेर क्षतिको मूल्याङ्कन गरिएको उनले जानकारी दिए।

अब जोखिम क्षेत्रका सबै फोनमा एकैपटक सूचना पुग्ने प्रविधि सुरु गर्न लागिएको र जोखिमपूर्ण रहेका नेपालका विभिन्न हिमतालको पानी घटाउने काम पनि सुरु भइसकेको श्रेष्ठले बताए।