११ कार्तिक २०८३, बुधबार
28 October 2026, Wednesday

चक्रवाती आँधी ‘अर्नब’ को त्रास : हवाई उडानमा सतर्कता अपनाउन आग्रह

चक्रवाती आँधी ‘अर्नब’ को त्रास : हवाई उडानमा सतर्कता अपनाउन आग्रह

शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को असर पर्न सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडानमा सतर्कता अपनाउन आग्रह गरेको छ। भारतको आन्ध्र प्रदेश आसपास आउने अनुमान गरिएको यो आँधी नेपालमा पनि प्रवेश गर्न सक्ने भएकाले सतर्क रहन भनिएको हो।

प्राधिकरणले आज सम्पूर्ण विमानस्थल र वायुसेवा कम्पनीलाई सूचना पठाउँदै होसियार रहन भनेको छ। मौसम विभागका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म नेपालमा ठूलो पानी पर्ने, तीव्र हावाहुरी चल्ने, चट्याङ पर्ने र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ। यसको असर विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी देखिनेछ।

खराब मौसमका कारण राम्रोसँग नदेखिने र धावनमार्ग चिप्लिने जोखिम हुने हुँदा प्राधिकरणले उडान व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिएको छ। उडान चालक दल र वायुसेवा कम्पनीलाई उडान अघि मौसमको अवस्था राम्रोसँग बुझ्न, पर्याप्त इन्धन बोक्न र आवश्यक परेमा अर्को विमानस्थलमा ओराल्न सक्ने गरी तयारी अवस्थामा रहन सुझाइएको छ। आपतकालीन सञ्चार र विद्युत् प्रणालीलाई पनि जुनसुकै बेला प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राख्न भनिएको छ।