एनपिएलः पोखरालाई हराउँदै सुदूरपश्चिमको पहिलो जित
- ११ कार्तिक २०८३
- १ मिनेटको पढाई
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको छ। यो सँगै सुदूरपश्चिमले प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको छ।
पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर सजिलै पूरा गर्यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए। उनले ३६ बल खेल्दै ४ चौका र २ छक्का हाने। त्यस्तै, इशान पाण्डेले ३७ र ब्रान्डन म्याकमुलेनले २२ रन जोडे। पोखराका धनञ्जय लक्षण, महेदी हसन र शाकिब अल हसनले १-१ विकेट लिए।
यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो। पोखराका लागि अर्जुन घर्तीले २५ बलमा अविजित ४० रन बनाए। महेदी हसनले ३२ रन जोड्दा कप्तान कुशल भुर्तेल २१ रनमा आउट भए।
पोखरालाई सस्तैमा रोक्न सुदूरपश्चिमका बलर अनिल खरेलले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले पनि १-१ विकेट हात पारे।