सीमा अपराध रोक्न नेपाल र भारत सहमत, नाकामा निगरानी बढाइने
- १३ कार्तिक २०८३
- १ मिनेटको पढाई
नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूबीच सीमा क्षेत्रमा हुने अपराध र अवैध गतिविधि रोक्न मिलेर काम गर्ने सहमति भएको छ। काठमाडौंमा दुई दिनसम्म चलेको १०औँ समन्वय बैठकमा दुई देशबीच यस्तो निर्णय भएको हो।
बैठकमा दशगजा क्षेत्रमा भएका अनधिकृत खेतीपाती, अतिक्रमण र संरचना हटाउने सहमति जुटेको छ। सीमापार तस्करी, मानव बेचबिखन, नक्कली नोट, लागूऔषध ओसारपसार र तेस्रो देशका नागरिकको अवैध प्रवेश रोक्न नाकामा जाँच कडा पारिने भएको छ। यसका लागि दुवै देशका सुरक्षाकर्मीले तत्काल सूचना आदानप्रदान गर्नेछन् र दशगजामा संयुक्त गस्ती गर्नेछन्।
सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले सीमा निगरानी गर्न सिसीटिभी, लगेज स्क्यानर, मेटल डिटेक्टर र ड्रोनको प्रयोग बढाउने विषयमा पनि छलफल भएको बताए। बाढी र पहिरो जस्ता विपद् व्यवस्थापनका लागि चितवनको कुरिनटारमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त उद्धार अभ्याससमेत गर्ने भएका छन्।
यात्रुको सहजताका लागि सीमामा सहायता कक्ष थप्ने र आपसी सम्बन्ध बलियो बनाउन खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्ने सहमति पनि भएको छ। नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय टोलीको नेतृत्व एसएसबीका महानिर्देशक सञ्जय सिङ्घलले गरेका थिए। यो बैठक सन् २०१२ देखि आलोपालो हुँदै आएको छ र आगामी बैठक भारतमा हुनेछ।