एनपिएल क्रिकेट: जनकपुर र कर्णाली विजयी
- १२ कार्तिक २०८३
- १ मिनेटको पढाई
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएका खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स विजयी भएका छन्।
पहिलो खेलमा जनकपुरले काठमाडौँ गोर्खाजलाई आठ विकेटले हरायो। काठमाडौँले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा जम्मा दुई विकेट गुमाएर पूरा गर्यो। जनकपुरका लागि मोइन अलीले अविजित ५८ र सैफ हसनले ४० रन बनाए। पहिले ब्याटिङ गरेको काठमाडौँले ११५ रन मात्र बनाएको थियो। काठमाडौँलाई सस्तोमै समेट्न जनकपुरका राहुल यादवले चार विकेट लिए।
त्यसैगरी, आजै भएको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई चार विकेटले पराजित गर्यो। विराटनगरले दिएको १८७ रनको ठूलो लक्ष्य कर्णालीले १९ दशमलव ५ ओभरमा छ विकेट गुमाएर भेट्टायो। कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६२ रन बनाए। बलिङतर्फ पनि उनले चार विकेट लिएका थिए। टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि लोकेश बमले सर्वाधिक ८७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।