१२ कार्तिक २०८३, बिहिबार
29 October 2026, Thursday

ममता काफ्ले बेपत्ता प्रकरण: नरेशले गुगलमा खोजेका थिए ‘के म मेरो बच्चा साथीलाई दिन सक्छु?’

ममता काफ्ले बेपत्ता प्रकरण: नरेशले गुगलमा खोजेका थिए ‘के म मेरो बच्चा साथीलाई दिन सक्छु?’

न्युयोर्क- श्रीमती ममता काफ्ले भट्टको हत्या आरोपमा पक्राउ परेका नरेश भट्टले छोरीको पहिलो जन्मदिन आउनु केही दिनअघि गुगलमा अचम्मको कुरा खोजेको अनुसन्धानबाट खुलेको छ। ममता बेपत्ता भएको करिब तीन हप्तापछि उनले ‘के म मेरो बच्चा मेरो साथीलाई दिन सक्छु?’ भनेर गुगलमा खोजेका थिए। नरेशलाई २२ अगस्ट २०२४ मा ममताको हत्या गरी शव लुकाएको आरोपमा पक्राउ गरिएको थियो। गत जुलाई २९ यता ममता सम्पर्कविहीन छन् र उनको शव अहिलेसम्म फेला परेको छैन।

बुधबार अदालतमा प्रहरी अनुसन्धानकर्ता क्याथरिन जैमिसले नरेशको मोबाइलबाट निकालिएका तथ्यहरू प्रस्तुत गरिन्। ममता बेपत्ता हुनुभन्दा महिनौं अघि नै नरेशले ‘भर्जिनियामा सम्बन्धविच्छेदको क्रममा जीवनसाथी बेपत्ता भएमा के हुन्छ’ भनेर पनि गुगलमा खोजेको पाइएको छ।

यसबाहेक, मार्च २०२४ मा उनले विवाह गर्नका लागि ‘कोलम्बियाकी युवती’ खोजिदिन एक व्यक्तिलाई सन्देश पठाएको पनि खुलेको छ। ती व्यक्तिलाई नरेशले छिटोभन्दा छिटो कोलम्बियन युवतीसँग भेट गराउन आग्रह गरेका थिए। नरेशले आफ्नो फोनमा ममताको नम्बरलाई अंग्रेजीमा ‘खराब सम्झना’ (ब्याड मेमोरी) नाम राखेर सेभ गरेको समेत अनुसन्धानले देखाएको छ। उनीहरूले आधिकारिक रूपमा सम्बन्धविच्छेदको प्रक्रिया सुरु गरेका थिएनन्, तर नरेशले अर्को विवाह गर्ने तयारी गरिरहेको फोनको विवरणबाट प्रष्ट हुन्छ।