५३ आप्रवासीको ज्यान जाने गरी भएको मानव तस्करी घटनामा ग्वाटेमालाका नागरिकलाई ३० वर्षको जेल सजाय
- ०४ कार्तिक २०८३
- २ मिनेटको पढाई
टेक्सस- अमेरिकाको टेक्ससमा सन् २०२२ मा ५३ जना आप्रवासीको निस्सासिएर मृत्यु भएको मानव तस्करीको हृदयविदारक घटनामा संलग्न एक ग्वाटेमालाका नागरिकलाई अमेरिकी संघीय अदालतले ३० वर्षको जेल सजाय सुनाएको छ।
मंगलबार संघीय न्यायाधीशले ५० वर्षीय रिगोबर्टो रामोन मिरान्डा ओरोस्कोलाई उक्त सजाय सुनाएका हुन्। उनलाई सन् २०२४ मा ग्वाटेमालामा पक्राउ गरी सन् २०२५ मा अमेरिका सुपुर्दगी गरिएको थियो। ओरोस्कोले घटनामा मृत्यु भएका दुई जना र गम्भीर घाइते भएका अर्का एक व्यक्तिको यात्रा तथा बस्ने व्यवस्था मिलाएको अदालतमा स्वीकार गरेका थिए।
सन् २०२२ को जुन महिनामा अमेरिकाको सीमावर्ती सहर लारेडोबाट सान एन्टोनियोसम्मको करिब तीन घण्टाको यात्राका क्रममा एउटा ट्याक्टर-ट्रेलर (ट्रक) भित्र दर्जनौं आप्रवासीलाई कोचिएको थियो। यात्राकै क्रममा ट्रकको एयर कन्डिसन (एसी) बिग्रिएपछि भित्र रहेका मानिसहरू अत्यधिक गर्मीमा थुनिन पुगेका थिए।
सान एन्टोनियोको एक सुनसान सडकमा बेवारिसे अवस्थामा छाडिएको उक्त ट्रक खोल्दा ४८ जना आप्रवासी मृत फेला परेका थिए। उद्धार गरी अस्पताल पुर्याइएका १६ मध्ये थप ५ जनाको उपचारका क्रममा ज्यान गएको थियो।
अमेरिकी महान्यायाधिवक्ता जस्टिन सिमन्सका अनुसार मृतकहरूले आफ्नो अन्तिम समयमा अत्यन्तै कष्ट भोगेका थिए। गर्मी खप्न नसकेर उनीहरूले लगाएका कपडा फुकालेको र बाहिर निस्कन संघर्ष गर्दै ट्रकको भित्तामा कोतरेका निसानहरू अनुसन्धानका क्रममा फेला परेका थिए। मृत्यु हुने ५३ जनामध्ये २१ जना ग्वाटेमालाका नागरिक थिए।
अभियोजनकर्ताहरूका अनुसार अमेरिका प्रवेश गर्नका लागि ती आप्रवासीहरूबाट जनही १५,००० अमेरिकी डलरसम्म असुलिएको थियो। अमेरिका–मेक्सिको सीमामा भएको यो हालसम्मकै सबैभन्दा दर्दनाक मानव तस्करीको घटना मानिन्छ।
यस घटनाको अनुसन्धानपछि अमेरिका र ग्वाटेमालामा गरी करिब २० जना दोषी ठहर भइसकेका छन्। यसअघि अमेरिकाभित्र तस्करी सञ्जालको नेतृत्व गर्ने फेलिपे ओर्डुना-टोरेसलाई आजीवन कारावास र उनका मुख्य सहयोगी अर्मान्डो गोन्जालेज-ओर्टेगालाई ८३ वर्षको जेल सजाय सुनाइएको थियो। ट्रकका चालकसहित अन्य केही अभियुक्तहरूको सजाय तोकिन बाँकी छ।
यता, ओरोस्कोका वकिल अल्फान्सो काबानास जुनियरले भने सजाय निकै कठोर भएको प्रतिक्रिया दिएका छन्। आफ्नो पक्ष घटनाको समयमा ग्वाटेमालामै रहेको र आप्रवासीलाई कुन गाडीमा लगिँदैछ वा एसी बिग्रिएको छ भन्ने कुराको उनलाई कुनै जानकारी नभएको वकिलको जिकिर छ।