न्युयोर्कको दिवाली समारोहमा डा. राजन थपलिया सम्मानित
- १२ कार्तिक २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कमा आयोजित दिवाली समारोह २०२६ मा नाभा र साउथ एसियन्स अफ न्युयोर्कले डा. राजन थपलियालाई ‘शिक्षा र प्रविधि’ क्षेत्रमा विशेष सम्मान गरेका छन्। यो कार्यक्रम अक्टोबर २६, २०२६ का दिन फ्लसिङस्थित हिन्दु टेम्पल सोसाइटीमा सम्पन्न भएको थियो।
कार्यक्रममा डा. थपलियाका साथै नागाथिपन महालिङ्गम, डा. राज भायनी र बंगलादेश वेदान्त सोसाइटीलाई पनि सम्मान गरिएको थियो। समारोहमा कंग्रेस वुमन ग्रेस मेङ, क्विन्स डीए मेलिन्डा काट्ज, सिनेटर जोन लिउ लगायतका विभिन्न अतिथिहरूको बाक्लो उपस्थिति थियो।
सम्मानित डा. थपलिया कृत्रिम बौद्धिकता (एआई), सफ्टवेयर इन्जिनियरिङ र डाटा विज्ञानका पुरस्कृत प्राध्यापक हुन्। उनले क्युनी र पेस विश्वविद्यालयमा पढाउँछन्। अमेरिकाका उत्कृष्ट २० मेसिन लर्निङ प्रभावकारी व्यक्तिहरूको सूचीमा उनी १२औं स्थानमा परेका छन्। उनले ‘ड्रिमरिक्स’ संस्था स्थापना गरेका छन् र यसैमार्फत विश्वभर निःशुल्क एआई शिक्षा दिँदै आएका छन्।
सम्मान ग्रहण गरेपछि डा. थपलियाले आयोजक र आफूलाई साथ दिने सबैलाई विशेष धन्यवाद दिए। उनले विभिन्न समुदायका अगुवा र साथीभाइमाझ यो सम्मान पाउनु गर्वको कुरा भएको बताए।
