किशोरकिशोरीका लागि बनाइएको ‘च्याटजीपीटी’ असुरक्षित : सुरक्षा नियमले काम नगरेको दाबी
- २२ अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- ओपनएआईले किशोरकिशोरीहरूका लागि ल्याएको ‘च्याटजीपीटी फर टिन्स’ भनिने सेवामा राखिएका सुरक्षा नियमहरूले तोकिएअनुसार काम नगरेको एक प्रतिवेदनले देखाएको छ। डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे वकालत गर्ने संस्था ‘कमन सेन्स मिडिया’ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा यो च्याटबट बालबालिकाका लागि निकै जोखिमपूर्ण रहेको उल्लेख छ।
संस्थाले बालबालिकाको उमेर र मानसिक विकास सुहाउँदो सुरक्षित वातावरण नबनेसम्म यो सेवा वयस्कहरूका लागि मात्र सीमित राख्न ओपनएआईलाई आग्रह गरेको छ। प्रतिवेदनका अनुसार यौनजन्य कुराकानी रोक्न यो प्रविधि सफल भए पनि आत्महत्या, आफैँलाई हानि पुर्याउने सोच वा खानपानसम्बन्धी गम्भीर समस्याको जोखिममा रहेका किशोरकिशोरीबारे अभिभावकलाई पूर्वसूचना दिने प्रणालीले काम गरेको छैन।
त्यस्तै, च्याटबटले मानवीय भावना नदेखाउने बाचा गरिए पनि किशोरकिशोरीले साथी जस्तै व्यवहार गर्दा यसले अझै पनि नजिकको साथी जसरी नै कुराकानी गर्ने गरेको पाइएको छ। कलिलो उमेरका प्रयोगकर्ताको मस्तिष्क पूर्ण रूपमा विकसित भइनसक्ने हुँदा कृत्रिम बौद्धिकता (एआई) सँगको यस्तो अस्वस्थ लगावले गम्भीर असर पार्न सक्ने विज्ञहरूको चिन्ता छ।
यता, ओपनएआईले भने प्रतिवेदनको निष्कर्ष गलत भएको दाबी गरेको छ। अभिभावकीय नियन्त्रण प्रणाली पूर्ण रूपमा सक्रिय हुनुभन्दा पहिले नै परीक्षण गरिएकाले नतिजा सही नआएको कम्पनीको भनाइ छ। ओपनएआईले आफू किशोरकिशोरीको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको र अभिभावकहरूलाई आवश्यक सुरक्षाका माध्यमहरू उपलब्ध गराइरहेको स्पष्ट पारेको छ।