१९ कार्तिक २०८३, बिहिबार
5 November 2026, Thursday

‘पार्टी विवादमा एक सुका पनि लेनदेन भएको छैन, निष्पक्ष छानबिन होस्’ : सभापति थापा

‘पार्टी विवादमा एक सुका पनि लेनदेन भएको छैन, निष्पक्ष छानबिन होस्’ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू वा पार्टीका तर्फबाट कुनै पनि आर्थिक लेनदेन नभएको स्पष्ट पारेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले इनम सापकोटासँग जोडिएर बाहिरिएको अडियो प्रकरणको निष्पक्ष अनुसन्धान गर्न माग गरेका हुन् ।

“नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा रुपैयाँ होइन, एक सुका पनि कुनै आर्थिक लेनदेन वा अनुचित काम भएको छैन,” सभापति थापाले भनेका छन् । उक्त प्रकरणलाई ‘बदनियतपूर्ण हल्ला’ को संज्ञा दिँदै उनले ‘दूधको दूध, पानीको पानी’ छुट्टिने गरी छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

अडियो सार्वजनिक भएपछि डराएर नेताहरूसँग भेटघाट गरेको भन्ने प्रचारको पनि उनले खण्डन गरेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाट मधेस प्रदेश सरकारको विश्वासको मत र अन्य नियमित राजनीतिक संवादका लागि मात्र भएको उनले प्रस्ट पारे ।

यसका साथै, सभापति थापाले वर्तमान सरकारलाई विपद्पछिको पुनःस्थापना, घरबारविहीनको व्यवस्थापन र अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् । सरकारका सही कामलाई समर्थन गर्ने र गलत कामको प्रतिवाद गर्ने बताउँदै उनले भने, “ठीक कुरामा साथ दिने कुरा पनि बन्द हुँदैन, गलत कुरालाई प्रश्न गर्ने र प्रतिवाद गर्ने कुरा पनि बन्द हुँदैन ।”

आफू कुनै अनैतिक काममा संलग्न नभएको र आफ्नो हात सफा रहेको दाबी गर्दै उनले प्रायोजित हल्लाबाट विचलित नभई लोकतन्त्रमा सधैँ प्रश्न उठाउने अधिकारको पक्षमा उभिइरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।