१९ कार्तिक २०८३, बिहिबार
5 November 2026, Thursday

चितवन पुगेर रविले भने– ‘व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छ’

चितवन पुगेर रविले भने– ‘व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा व्यक्तिभन्दा नीति र प्रणाली पुग्नुपर्ने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

आफू चितवन आउन ढिला भए पनि यहाँ नीतिगत कामहरु भइरहेको उनले स्पष्ट पारे । जिम्मेवारी धेरै भएकोले व्यक्ति उपस्थित हुन ढिला भए पनि पार्टी र सरकारका नीतिहरु भने देशभर पुगिरहेको उनले दाबी गरे ।

चितवन क्षेत्र नम्बर २ का सांसद समेत रहेका रवि शुक्रबारसम्म चितवनका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । रास्वपा चितवनका सभापति मिनिमाधव खनालका अनुसार उनले सोमबार पार्टी कार्यालयमा जिल्लादेखि स्थानीय तहसम्मका पदाधिकारीसँग सङ्गठनात्मक छलफल गरेका छन् ।

यसैगरी, शुक्रबार बिहान उनले नारायणी नदी किनारको कटान क्षेत्रको अवलोकन र सरोकारवालासँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।