एनपिएलः पोखरालाई ९ रनले हराउँदै जनकपुरको लगातार दोस्रो जित
- १५ कार्तिक २०८३
- १ मिनेटको पढाई
काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले हरायो।
टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो। जनकपुरका लागि तृतराज दासले सर्वाधिक ६१ रनको अर्धशतकीय इनिङ खेले। यस्तै, अभिषेक तिवारीले १० बलमा अविजित २४ रन र मोइन अलीले २१ रन बनाए। बलिङतर्फ पोखराका शाकिब अल हसनले ३ र चमिका करुणारत्नेले २ विकेट लिए।
१४८ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो। पोखराका लागि कुशल भूर्तेलले ३५ र विपिन आचार्यले २० रन जोडे पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। जनकपुरका मोइन अलीले ३ तथा हरमित सिंह र सैफ हसनले २–२ विकेट लिए।
यो जितसँगै जनकपुर ३ खेलबाट ४ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लगातार हार बेहोरेको पोखरा भने अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ।