१५ कार्तिक २०८३, आइतवार
1 November 2026, Sunday

विदेश पठाउने बहानामा ७० लाख ठगी गर्ने दुई पक्राउ

विदेश पठाउने बहानामा ७० लाख ठगी गर्ने दुई पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेको चौँरीदेउराली गाउँपालिका–९ की २४ वर्षीया सुस्मिता रसाइली छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोक्तानले कम्बोडिया पठाइदिने भन्दै ४० लाख र रसाइलीले क्यानडा पठाउने भन्दै ३० लाख रुपैयाँ लिएका थिए। पैसा लिएर उनीहरु सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापाक्षेत्रीले बताए। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।