९ अशोज २०८३, शुक्रबार
25 September 2026, Friday

संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनलाई बल पुर्‍याउन न्युयोर्कमा जलवायु न्यायको माग

संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनलाई बल पुर्‍याउन न्युयोर्कमा जलवायु न्यायको माग

न्युयोर्क- प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु न्यायको विषय उठाउँदै गर्दा न्युयोर्कस्थित नेपाली समुदायले नागरिक स्तरबाट ऐक्यबद्धता जनाउने भएका छन्। हालै रसुवामा आएको आकस्मिक बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलनसहित जलवायु न्याय र मानव अधिकारको विषयमा ध्यानाकर्षण गराउन कार्यक्रम गर्न लागिएको हो।

म्यानहाटनको ४७औँ स्ट्रिट, पहिलो र दोस्रो एभिन्युबीचको खुल्ला स्थानमा हुने कार्यक्रमलाई प्रधानमन्त्रीको व्यक्तिगत समर्थनभन्दा पनि समग्र हिमाली क्षेत्रको जलवायु न्यायको पक्षमा उभ्याउने तयारी छ। यसलाई थप प्रभावकारी बनाउन नेपाली मात्र नभई भुटानी, भारतीय हिमाली क्षेत्रका समुदाय र तिब्बती डायस्पोरालाई समेत जोड्ने प्रयास भइरहेको छ। संयुक्त राष्ट्रसंघभित्र प्रधानमन्त्रीले उठाउने विषय र बाहिर नागरिकले उठाउने आवाजलाई एउटै बनाएर अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा ठूलो भीड जम्मा गर्नुभन्दा पनि मर्यादित र स्पष्ट सन्देश दिने रणनीति लिइएको छ। हिमालका तस्बिर, रसुवाको बाढीको प्रभाव झल्काउने सामग्री र स्पष्ट सन्देशसहितका प्लेकार्डमार्फत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तान्ने योजना छ। यसैगरी, ‘न्युयोर्क हिमाली जलवायु न्याय घोषणापत्र’ वितरण गर्दै जलवायु वित्त, क्षति र नोक्सानी, पूर्व सूचना प्रणाली, हिमताल अनुगमन र हिमाली क्षेत्रीय सहकार्य जस्ता महत्वपूर्ण मागहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष राखिनेछ।

यो कार्यक्रम फोटो खिच्न वा व्यक्तिगत प्रभाव देखाउन नभई नेपालले उठाएको आवाजलाई विश्वव्यापी बनाउन पूर्ण रूपमा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेतृत्व गर्नुपर्ने अपेक्षा गरिए पनि नागरिक स्तरबाटै स्वतःस्फूर्त रूपमा हुन लागेको यो सचेतना कार्यक्रमलाई सकारात्मक रूपमा लिइएको छ।