कोप–३१ मा स्वास्थ्यमन्त्री मेहताले उच्चस्तरीय छलफलको अध्यक्षता गर्ने
- २१ कार्तिक २०८३
- १ मिनेटको पढाई
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टर्कीको अन्ताल्यामा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा उच्चस्तरीय छलफलको अध्यक्षता गर्ने भएकी छन्। आगामी कात्तिक २४ गते (नोभेम्बर ९) नेपाल पेभिलियनमा जलवायु र स्वास्थ्यसम्बन्धी उक्त कार्यक्रम हुन लागेको हो।
स्वास्थ्य मन्त्रालय, इपास नेपाल र विश्व स्वास्थ्य सङ्गठन नेपालले मिलेर आयोजना गर्न लागेको यो छलफलमा जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारेको असर र स्वास्थ्य प्रणालीको सुधारबारे विभिन्न देशका प्रतिनिधिहरूसँग कुराकानी हुनेछ।
बाढीपहिरो, अत्यधिक गर्मी, सरुवा रोग र पानी तथा खाद्य असुरक्षा जस्ता समस्या बढ्दै गएकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने विषय कार्यक्रममा उठाइनेछ।
यस सम्मेलनमार्फत नेपालले जलवायु जोखिममा परेका देशको स्वास्थ्य क्षेत्र सुधारका लागि अन्तर्राष्ट्रिय आर्थिक सहयोग, नीतिगत प्रतिबद्धता र सहकार्य आवश्यक रहेको कुरा प्रस्तुत गर्ने मन्त्रीको सचिवालयले जनाएको छ।