श्रीमती ममताको शव काटेर फालेको नरेश भट्टको स्वीकारोक्ति, हत्या आरोपमा अब के हुन्छ ?
- २१ कार्तिक २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको प्रिन्स विलियम काउन्टी अदालतमा चलिरहेको ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्टले दिएको बयानले मुद्दामा नयाँ मोड ल्याएको छ। बिहीबार अदालतमा बयान दिँदै नरेशले आफ्नी श्रीमती ममताको शव काटेर फोहोर फाल्ने भाँडोमा फालेको स्वीकार गरेका छन्। तर, उनले ममताको हत्या भने आफूले नगरेको दाबी गरेका छन्।
नरेशले सन् २०२४ जुलाई ३० को बिहान ममताले आफ्नै कोठामा आत्महत्या गरेको दाबी गरे। प्रहरीलाई खबर गर्नुको सट्टा आफूले करौतीको प्रयोग गरेर शव टुक्रा पारेको र झोलामा राखेर फोहोरमा फालेको उनले बताए। शव लुकाएको र नष्ट गरेको आरोप उनले इजलासमै स्वीकार गरे। ममताको शव अहिलेसम्म फेला परेको छैन, तर नरेशको यो भनाइले उनी जीवित नरहेको कुरा भने पुष्टि गरेको छ।
नरेशको यो आश्चर्यजनक बयानपछि सरकारी र प्रतिरक्षा वकिलहरूबीच शुक्रबार छलफल भएको छ। अब उनीमाथि पहिलो र दोस्रो डिग्रीको हत्या आरोपमै सुनुवाइ अघि बढ्नेछ भने भवितव्य हत्याको आरोपलाई भने विचार नगरिने भएको छ। अदालतमा ममताको शरीरमा मृत्युअघि देखिएका चोटपटक र घाउका प्रमाणहरू पनि पेस गरिएका थिए। सरकारी वकिलले नरेशले नै ती चोट पुर्याएको दाबी गरे पनि नरेशले आफूले जीवनमा कहिल्यै ममतालाई कुटपिट नगरेको जिकिर गरे।
सरकारी वकिलले “के तिमीले ममतालाई टुक्रा पार्न र फोहोरमा कोच्न मात्रै छोएका हौ त?” भनेर सोधेको प्रश्नमा नरेशले ममताको मृत्युपछि मात्रै आफूले उनको शरीर छोएको दाबी गरे। सोमबार बिहानदेखि अदालतमा फेरि सुनुवाइ सुरु हुनेछ। आउँदो हप्ताको सुरुमै यो मुद्दा अन्तिम निर्णयका लागि निर्णायक मण्डलसमक्ष पुग्ने सम्भावना छ।