एनपिएलः सुदूरपश्चिमलाई ३५ रनले हराउँदै विराटनगरको पहिलो जित
- १४ कार्तिक २०८३
- १ मिनेटको पढाई
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सले पहिलो जित हात पारेको छ। बुधबार राति भएको खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हरायो। यो सुदूरपश्चिमको भने दोस्रो हार हो।
वर्षाका कारण खेललाई ५ ओभरमा मात्र झारिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २ विकेट गुमाएर १०५ रनको बलियो योगफल बनायो। विराटनगरका लागि शेहान जयसूर्याले मात्र ११ बलमा ३९ रन बनाए। यस्तै, आन्द्रे रसेलले अविजित २९ र लोकेश बमले २५ रन जोडे। सुदूरपश्चिमका अविनाश बोहराले १ विकेट लिए।
१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ ओभरमा ३ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका लागि स्कट कुग्लाइनले अविजित २८, सेफ अली जेब र आरिफ शेखले समान १७-१७ रन बनाए। विराटनगरका रुपेश सिंह, एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले एक-एक विकेट लिए।
यसैगरी, सोही दिन तय भएको चितवन राइनोज र लुम्बिनी लायन्सबीचको पहिलो खेल भने वर्षाले गर्दा रद्द भएको थियो।