एनपिएल क्रिकेट: विराटनगरको रोमाञ्चक र लुम्बिनीको सहज जित
- १७ कार्तिक २०८३
- १ मिनेटको पढाई
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत १७ कात्तिकमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएका खेलहरूमा विराटनगर किङ्स र साविक विजेता लुम्बिनी लायन्सले जित निकालेका छन्। पहिलो खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनको झिनो अन्तरले हरायो भने दोस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि ८ विकेटको सहज जित हात पार्यो।
पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो। उसका लागि इमरान शेखले ५६, आन्द्रे रसेलले अविजित ५२ र लोकेश बमले ५० रन जोडे। जवाफमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रनमै समेटियो। जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ र विशाल सुसलिङले ४३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। बल र ब्याट दुवैमा चम्किएका विराटनगरका आन्द्रे रसेलले ४ विकेट लिए। यो नतिजासँगै ४ खेल खेलेका विराटनगर र जनकपुर दुवैको समान ४ अंक भएको छ।
त्यसैगरी दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको पोखरा २० ओभरमा ९ विकेट गुमाएर ९७ रनमै खुम्चियो। पोखराका लागि चमिका करुणारत्नेले २५ र कप्तान कुशल भुर्तेलले १४ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। पोखरालाई सस्तोमै समेट्न लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ र तिलक भण्डारीले २ विकेट लिए। ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमै मात्र २ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीलाई जिताउन कप्तान रोहितकुमार पौडेलले अविजित ४७ र निरोशन डिकवेलाले २७ रन बनाए। योसँगै लुम्बिनीले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको छ।