तिहारको साइत: कात्तिक २५ गते बिहान ११:०७ बजे भाइटीका उत्तम
- १७ कार्तिक २०८३
- १ मिनेटको पढाई
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार, साइत खोज्नेहरूका लागि यो अभिजित् मुहूर्त दिइए पनि सर्वसाधारणले मध्याह्नकालमा टीका लगाउन कुनै बाधा पर्दैन।
यस वर्षको यमपञ्चक कात्तिक २० गते शुक्रबार धनतेरस (धनत्रयोदशी) देखि सुरु हुनेछ। समितिले सार्वजनिक गरेको तालिकाअनुसार कात्तिक २१ गते काग तिहार र धन्वन्तरी जयन्ती तथा २२ गते आइतबार कुकुर तिहार, नरक स्नान र साँझ लक्ष्मीपूजा परेको छ। औँसी तिथिको स्नान र दान भने कात्तिक २३ गते सोमबार गरिनेछ।
यसैगरी, कात्तिक २४ गते मंगलबार गाई, गोरु र आत्म (म्ह) पूजा गरिनेछ। नेवार समुदायले मनाउने नेपाल संवत् ११४७ को नयाँ वर्ष पनि यसै दिन सुरु हुनेछ। कात्तिक २५ गते बुधबार भाइटीका (किजापूजा) सँगै यस वर्षको तिहार पर्व समापन हुनेछ। यमपञ्चकको अवधिभर यमयातनाबाट मुक्ति पाउन परिवारका सदस्यको नाममा यमदीपदान गर्ने तथा यमदूतका रूपमा काग र कुकुरलाई मीठा परिकार खुवाउने शास्त्रीय परम्परा रहेको छ।