१७ कार्तिक २०८३, मङ्लबार
3 November 2026, Tuesday

ममता काफ्ले हत्या प्रकरण: नरेशको परीक्षणमा सरकारी पक्षको बहस सकियो, भाइले दिए गवाही

ममता काफ्ले हत्या प्रकरण: नरेशको परीक्षणमा सरकारी पक्षको बहस सकियो, भाइले दिए गवाही

न्युयोर्क- अमेरिकामा ममता काफ्ले भट्टको हत्या आरोपमा पक्राउ परेका नरेश भट्टको मुद्दामा सरकारी वकिलहरूले आफ्नो तर्फको बहस र साक्षी प्रस्तुति सकाएका छन्। पाँचौँ हप्ताको सुनुवाइअन्तर्गत सोमबार ममताका भाइ, फरेन्सिक विज्ञ र साथीहरूले अदालतमा गवाही दिए।

फरेन्सिक वैज्ञानिक सुसन ग्रिनस्पुनले नरेशको घरको सुत्ने कोठाको कार्पेटमा भेटिएको रगतको दागमा ममता र उनकी छोरीको डिएनए मिलेको बताइन्। तर, यो कहिले र कसरी लाग्यो भन्ने यकिन भने नभएको उनले प्रस्ट पारिन्। अर्की फरेन्सिक कन्सल्टेन्ट आइरिस ड्याली ग्राफले सुत्ने कोठा र बाथरुममा रगत लत्पतिएको वस्तु तानेको वा पुछेको जस्तो दाग देखिएको बताइन्। बाथरुमका दागहरू चक्कु वा करौँती जस्तो हतियार चलाउँदा उछिट्टिएको हुन सक्ने उनको भनाइ थियो।

ममताकी साथी बबिदा भण्डारीले ममता बेपत्ता हुँदा नरेशले आफूलाई कुनै खबर नगरेको बताइन्। त्यस्तै अर्की साथी मन्दिरा श्रेष्ठले ममता हराएपछि नरेशले घरमा धेरै मानिसको आवतजावत हुने भन्दै सुरक्षाको कारण देखाएर आफ्नै औँठीसहित ममताका गहना आफूलाई राख्न दिएको खुलाइन्। ती गहना मन्दिराले पछि प्रहरीलाई बुझाएकी थिइन्। मन्दिराले ‘ममतालाई केही गर्‍यौ कि’ भनेर सोध्दा नरेशले ‘मैले त्यस्तो गर्छु जस्तो लाग्छ?’ भनेर उल्टै प्रश्न गरेका थिए। सेप्टेम्बर २०२३ देखि नै उनीहरूको वैवाहिक सम्बन्धमा समस्या रहेको पनि उनले बताइन्।

नरेशले कारम्याक्समा बेचेको निलो टेस्ला कारलाई सफा गर्ने प्रक्रियाबारे उक्त कम्पनीका म्यानेजर जेम्स गिलले बयान दिएका थिए।

अदालतमा ममताका भाइ महेश काफ्लेले नरेशसँग बिहे नगर्न आफूले पहिले नै सुझाव दिएको खुलाए। गत फेब्रुअरीमा ममताले एउटा तस्बिर पठाएर ‘भविष्यमा काम लाग्न सक्छ, सुरक्षित राख’ भनेको उनले बताए। ममताले आफूलाई ‘म सुरक्षित छैन’ भनेर सन्देश पठाएको र उनीहरूबीच सम्बन्धविच्छेदको विषयमा कुरा भएको महेशले जानकारी दिए। ममता हराएपछि नरेशलाई सोध्दा, ‘हाम्रो टोलबाट अरू मानिस पनि हराएका छन्, उनी कहाँ हराइन् मलाई थाहा छैन’ भन्ने जवाफ दिएको महेशले बताए।

प्रतिवादी (नरेश) तर्फका वकिल लरेल रोडेवाल्डले प्रमाण र शव नभएको भन्दै मुद्दा खारेज गर्न माग गरेकी थिइन्। तर, न्यायाधीशले सम्बन्धमा रहेको दरार र वैज्ञानिक प्रमाणले ममताको मृत्यु भएको संकेत गर्ने भन्दै मुद्दा खारेज गर्न अस्वीकार गरे। अब बुधबारदेखि नरेशको तर्फबाट वकिलहरूले आफ्ना साक्षी प्रस्तुत गर्नेछन्।