अमेरिकामा मध्यावधि चुनाव: न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा मतदान आज
- १७ कार्तिक २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकामा आज (मंगलबार, नोभेम्बर ३) मध्यावधि निर्वाचनअन्तर्गत न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यमा मतदान भइरहेको छ। यस निर्वाचनमार्फत मतदाताहरूले गभर्नर, अमेरिकी तल्लो सदन (कंग्रेस) का प्रतिनिधि तथा अन्य स्थानीय तहका महत्त्वपूर्ण पदका लागि आफ्ना प्रतिनिधि छान्दैछन्।
न्युयोर्क राज्यमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म मतदान खुला रहनेछ। यहाँ गभर्नर पदका लागि डेमोक्रेटिक पार्टीकी क्याथी होचुल र रिपब्लिकन पार्टीका ब्रुस ब्लेकम्यानबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। यसका साथै महान्यायाधिवक्ता, स्टेट कम्पट्रोलर र अमेरिकी कंग्रेसका प्रतिनिधि चयनका लागि पनि मतदान हुँदैछ। न्युयोर्कवासीले सार्वजनिक स्थानको प्रयोग, सडक सुरक्षा र निर्माण अनुमति प्रणालीलाई सहज बनाउने तथा आपत्कालीन कोष स्थापना गर्नेसहित पाँचवटा महत्त्वपूर्ण प्रस्तावमा पनि मतदान गर्दैछन्।
यसैगरी, न्युजर्सीमा बिहान ६ बजेदेखि राति ८ बजेसम्म मतदानको समय तोकिएको छ। यहाँ विशेषगरी अमेरिकी कंग्रेसका प्रतिनिधिहरूको चयनमा प्रतिस्पर्धा केन्द्रित छ, जसमा डिस्ट्रिक्ट ७, ९ र ११ का चुनावी भिडन्तलाई निकै चासोका साथ हेरिएको छ। मतदानका क्रममा कुनै अवरोध वा विभेद महसुस भएमा उजुरी गर्न राज्यले विशेष हटलाइनको समेत व्यवस्था गरेको छ।
उता कनेक्टिकट राज्यमा पनि बिहान ६ बजेदेखि राति ८ बजेसम्म नै मतदान भइरहेको छ। यहाँ वर्तमान गभर्नर नेड लामोन्ट र रिपब्लिकन उम्मेदवार रायन फाजियोबीच गभर्नर पदका लागि कडा प्रतिस्पर्धा छ। साथै महान्यायाधिवक्ता, सेक्रेटरी अफ स्टेट र कंग्रेस प्रतिनिधिहरूको पनि चयन हुँदैछ। चुनावका लागि मतदान केन्द्रहरू तय गरिसकिएका छन्। न्युयोर्कमा मात्रै करिब २० लाख मतदाताले ‘अर्ली भोटिङ’ मार्फत मतदान गरिसकेका छन् भने यी सबै राज्यका मुख्य प्रतिस्पर्धाहरूमा स्वतन्त्र मतदाताहरूको मत नै निर्णायक हुने अनुमान गरिएको छ।