अमेरिकाद्वारा अफगान आप्रवासीलाई पाकिस्तान हुँदै स्वदेश फर्काउने योजना
- १६ कार्तिक २०८३
- १ मिनेटको पढाई
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा हिरासतमा रहेका अफगान आप्रवासीहरूलाई पाकिस्तान हुँदै अफगानिस्तान फर्काउने योजना बनाएको छ। एसोसिएटेड प्रेस (एपी) ले प्राप्त गरेका अदालती कागजातहरूअनुसार, अमेरिकाको लुजियानाबाट पाकिस्तानसम्मको उडानमार्फत उनीहरूलाई डिपोर्ट (देश निकाला) गर्न लागिएको हो र त्यहाँबाट अफगानिस्तान पठाइनेछ।
यसरी स्वदेश फर्काउँदा उनीहरूको ज्यान जोखिममा पर्न सक्ने भन्दै मानवअधिकारवादी तथा आप्रवासी अधिकार समूहहरूले कडा विरोध गरेका छन्। अमेरिकी सेना र सहायता समूहहरूलाई सहयोग गरेका ती अफगानहरू स्वदेश फर्किँदा तालिवानको निशानामा पर्न सक्ने उनीहरूको भनाइ छ।
अमेरिकाको तालिवान सरकारसँग औपचारिक सम्बन्ध नभएका कारण तेस्रो देश (पाकिस्तान) मार्फत उनीहरूलाई फर्काउन लागिएको हो। यस कदमको डेमोक्रेटिक पार्टीका नेताहरूले पनि कडा आलोचना गर्दै, द्वन्द्वको समयमा आफूलाई सहयोग गर्नेहरूलाई अमेरिकाले धोका दिएर मृत्युको मुखमा धकेल्न नहुने बताएका छन्।