जर्मनीमा ७० भन्दा धेरै बालबालिकामाथि यौन दुर्व्यवहार गर्ने चिकित्सकविरुद्ध मुद्दा
- १६ कार्तिक २०८३
- १ मिनेटको पढाई
जर्मनीमा एक ४६ वर्षीय बाल रोग विशेषज्ञमाथि ७० भन्दा धेरै बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर भएको छ। उनले सन् २०१३ देखि सन् २०२५ को बिचमा पूर्वी जर्मनीका नौएन र राथेनो सहरका उपचार केन्द्रमा काम गर्दा बालबालिकामाथि दुर्व्यवहार गरेका थिए।
ती चिकित्सकमाथि १३० भन्दा धेरै आपराधिक मुद्दा दर्ता गरिएको छ। करिब एक वर्षअघि एक बालककी आमाले शङ्का लागेर उजुरी गरेपछि उनलाई पक्राउ गरिएको थियो।
अनुसन्धान गर्ने अधिकारीहरूले उनको विद्युतीय उपकरण जाँच गर्दा अपराधका थप प्रमाण भेटेका थिए। पक्राउ परेदेखि नै उनलाई हिरासतमा राखिएको छ। बर्लिन नजिकैको पोट्सडाम सहरमा चलिरहेको यो मुद्दा आउँदो डिसेम्बरसम्म चल्ने अनुमान छ।