ममता काफ्ले हत्या प्रकरणः अदालतमा नरेश भट्टको बयान र घटनाक्रम
- १९ कार्तिक २०८३
- २ मिनेटको पढाई
न्युयोर्क- सन् २०२४ को जुलाई अन्त्यतिर अमेरिकाको भर्जिनियास्थित मनासस पार्कबाट नर्स ममता काफ्ले बेपत्ता भइन्। उनका श्रीमान् नरेश भट्टले श्रीमती बेपत्ता भएको उजुरी प्रहरीमा ढिलो गरी (अगस्ट ५ मा) मात्रै दिए। अनुसन्धानका क्रममा उनीहरूको सुत्ने कोठा र बाथरुममा रगतको डोब फेला पर्यो। डिएनए परीक्षण र अन्य प्रमाणहरू, जस्तै रगत लागेको आरा (स) भेटिएपछि, प्रहरीले अगस्ट २२ मा नरेशलाई पक्राउ गर्यो। ममताको शव अहिलेसम्म फेला परेको छैन।
यस प्रकरणमा नरेशविरुद्ध नियोजित हत्या, शव लुकाएको र नष्ट गरेको आरोप छ। अदालतमा पेस गरिएका प्रमाणअनुसार, सुत्ने कोठाको कार्पेटमा लतपतिएको र सफा गर्न खोजिएको रगत ममताकै भएको फरेन्सिक विज्ञले पुष्टि गरेका छन्। ममता हराएको केही सातापछि नरेशले आफ्नो विवाहको औँठी र ममताका सबै गहना एक साथीलाई दिएको पनि अदालतमा खुलेको छ। ममताका भाइ महेशले गत फेब्रुअरीमै ममताले आँखामा नीलडाम भएको तस्बिर पठाउँदै नरेशले कुटपिट गरेको र आफू असुरक्षित रहेको बताएको अदालतमा जानकारी दिए।
बुधबार, नोभेम्बर ४, २०२६ मा नरेश आफैँले अदालतमा उपस्थित भएर बयान दिएका छन्। उनले आफूमाथि लागेका हत्या र भौतिक आक्रमणका सबै आरोप अस्वीकार गरे। यद्यपि, ममता हराउनुअघिका महिनाहरूमा उनीहरूबीचको सम्बन्ध निकै बिग्रिएको र आफूले भावनात्मक रूपमा चोट पुर्याएको उनले स्वीकारे। बयानका क्रममा नरेशले सुरुवाती दुई वर्ष वैवाहिक जीवन निकै खुसीसाथ बितेको, आफूले ममतालाई हरेक कुरामा सघाएको र उनीमाथि कुनै पनि प्रकारको रोकतोक नगरेको दाबी गरे।
गत फेब्रुअरी १४ मा उनीहरूबीच पैसा निकालेको विषयमा झगडा भएको थियो, जतिबेला ममताले प्रहरीसमेत बोलाएकी थिइन्। नरेशले अर्की महिला खोजेको भनेर साथीलाई पठाएको म्यासेज ममतालाई डाहा गराउन मात्रै गरेको मजाक भएको र श्रीमतीलाई पठाएका धम्कीपूर्ण म्यासेजको अर्थ भाषा अनुवादका कारण फरक परेको उनले जिकिर गरे। हाल अदालतमा यस मुद्दाको सुनुवाइ निरन्तर चलिरहेको छ।