१ मंसिर २०८३, मङ्लबार
17 November 2026, Tuesday

कोप–३१ मा शिक्षामन्त्री पोखरेल : टर्कीका ‘हरित विद्यालय’ र सिकाइको अवलोकन

कोप–३१ मा शिक्षामन्त्री पोखरेल : टर्कीका ‘हरित विद्यालय’ र सिकाइको अवलोकन

संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुगेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्यहाँको ‘हरित विद्यालय’ र व्यावहारिक सिकाइको अवलोकन गरेका छन्। टर्कीका शिक्षामन्त्री युसुफ तेकिनले उनलाई स्थानीय शैक्षिक संस्थाहरूको भ्रमण गराएका हुन्।

मन्त्री पोखरेलले एन्टाल्याको ‘१५ जुलाई सहिद किन्डरगार्टन’ पुगेर बालमैत्री र प्रकृतिमैत्री सिकाइ प्रणालीबारे चासो राखे। उनले विद्यालयमा बालबालिकाले तयार पारेको ‘शून्य फोहोर’ परियोजना, मिनी नर्सरी र तरकारी उमारिएको प्रयोगात्मक विधिको निरीक्षण गरे। यस क्रममा उनले शिक्षक, अभिभावक र विद्यार्थीसँग कुराकानी पनि गरे। साना विद्यार्थीले स्वागतमा परम्परागत लोकनृत्य प्रस्तुत गरेका थिए।

अवलोकनपछि मन्त्री पोखरेलले सानै उमेरदेखि बालबालिकालाई प्रकृतिसँग जोड्न सके नयाँ पुस्ता स्वतः वातावरणमैत्री बन्ने बताए। उनले नेपालमा पनि विद्यालय शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रकृति र व्यवहारसँग जोड्ने काम भइरहेको जानकारी दिए। नेपालको पाठ्यक्रममै जलवायु र विपद् व्यवस्थापन शिक्षा समेट्ने प्रक्रिया अघि बढेको बेला टर्कीको यो सिकाइ मोडेल नेपालका लागि पनि उपयोगी हुने उनको भनाइ छ।