न्यूयोर्कमा बलिहाङ चाड (दीपावली) देउसी–भैलो सम्पन्न, नेपाली मौलिक संस्कृतिको झल्को
- २८ कार्तिक २०८३
- १ मिनेटको पढाई
न्यूयोर्क- युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यूयोर्क च्याप्टरको आयोजनामा न्यूयोर्कको ज्याक्सन हाइट्सस्थित नेपाली भान्साघरमा बलिहाङ चाड तथा देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका तथा न्यूयोर्कस्थित नेपाली डायस्पोराका विभिन्न समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता थियो।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपि लामा) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, संस्कृतिप्रेमी तथा वरिष्ठ कलाकारहरूको उपस्थिति थियो।
विदेशमा रहेर पनि आफ्नो मौलिक चाडपर्व, संस्कार र सांस्कृतिक पहिचानलाई निरन्तरता दिने उद्देश्यले आयोजित कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता र सद्भावको सन्देश प्रवाह गरेको छ।
कार्यक्रमको अध्यक्षता युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाकी अध्यक्ष बसन्ती राईले गरिन् भने सञ्चालन संस्थाका कोषाध्यक्ष विनोद राई र महासचिव सिर्जना राईले गरेका थिए।
कार्यक्रममा नेपाली मौलिक नृत्य, देउसी–भैलो तथा विभिन्न सांगीतिक प्रस्तुतिहरूले विशेष रौनक थपेका थिए। कलाकार सपना श्री, विमल डाँगी, वरिष्ठ नृत्य निर्देशक गोविन्द राई लगायत संस्थाकै स्थानीय भाइबहिनी कलाकारहरूको गायन तथा नृत्य प्रस्तुतिले कार्यक्रमको शोभा बढाउनुका साथै दर्शकहरूमा जोस–जाँगर थप्दै उच्च मनोरञ्जन प्रदान गरेको थियो।
देउसी–भैलो कार्यक्रममा विभिन्न सहयोगी तथा शुभेच्छुकहरूले स्वेच्छिक रूपमा दक्षिणा तथा आर्थिक सहयोग प्रदान गरेका थिए। सहभागीहरूको उत्साहजनक उपस्थिति र सहयोगले कार्यक्रमलाई थप सफल र स्मरणीय बनाएको थियो।
समग्रमा, उक्त कार्यक्रमले नेपाली डायस्पोराबीच सांस्कृतिक एकता, आपसी सद्भाव र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नयाँ पुस्तामा मौलिक भाषा, संस्कृति र पहिचान हस्तान्तरण गर्ने महत्वपूर्ण सन्देश दिएको छ।