२९ कार्तिक २०८३, आइतवार
15 November 2026, Sunday

एआईमा ५०० अर्ब युरो लगानी गर्दै ईयू, युक्रेन शान्ति वार्ताका लागि संयुक्त टोली

एआईमा ५०० अर्ब युरो लगानी गर्दै ईयू, युक्रेन शान्ति वार्ताका लागि संयुक्त टोली

न्युयोर्क- युरोपेली संघ (ईयू) ले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र लगानी बढाउँदै युरोपलाई प्रविधिमा आत्मनिर्भर बनाउने तयारी गरेको छ। शुक्रबार डब्लिनमा भएको ईयू नेताहरूको बैठकले युक्रेन द्वन्द्व समाधानका लागि शान्ति वार्ता गर्न संयुक्त टोली बनाउने सहमति पनि गरेको छ।

युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले प्रविधिमा बाहिरी देशको भर पर्नुको सट्टा आफ्नै लगानी बढाउनुपर्नेमा जोड दिए। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले युरोपमा सातवटा ठूला एआई केन्द्र खोल्ने योजना सुनाइन्। पूर्वाधार विकास गर्न करिब ३० अर्ब युरो लाग्ने र समग्र प्रविधिमा आत्मनिर्भर बन्न कम्तीमा ५०० अर्ब युरो लगानी चाहिने उनले बताइन्। एआईलाई सुरक्षित र प्रभावकारी बनाउन फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आउँदो डिसेम्बरमा पेरिसमा प्रविधि अगुवाहरूको बैठक राख्ने जानकारी दिए।

बैठकमा युक्रेन मामिला पनि प्रमुख एजेन्डा बन्यो। युक्रेन शान्ति वार्तामा युरोपको एउटै धारणा बनाउन ईयूका साथै बेलायत, फ्रान्स, जर्मनी, इटाली र पोल्यान्ड सम्मिलित टोलीले प्रतिनिधित्व गर्ने कोस्टाले बताए। युक्रेनलाई दिने थप आर्थिक सहयोग र रुसमाथि लगाउने नयाँ प्रतिबन्धबारे आउँदो बैठकमा छलफल हुनेछ।