एनभिडियाका सीईओ जोडिएको विवाद: अमेरिकी अनुसन्धानमा सघाउन मेगास्पिड तयार
- २६ कार्तिक २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- सिंगापुरको डेटा सेन्टर कम्पनी ‘मेगास्पिड’ले अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङसँग जोडिएको राष्ट्रिय सुरक्षा विवादमा अमेरिकी सरकारको अनुसन्धानलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
हुआङले मेगास्पिडकी पूर्व उच्च अधिकारी रहेकी एक चिनियाँ महिलासँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेपछि यो विषय सतहमा आएको हो। अमेरिकी गुप्तचर निकायले ती महिलाले बेइजिङलाई प्रत्यक्ष रूपमा गोप्य सूचना दिएको आरोप लगाएको छ भने एफबीआईले यस विषयमा अनुसन्धान गरिरहेको छ।
मेगास्पिडका सीईओ जेम्स टानले अमेरिकी सरकारसँग पारदर्शी रूपमा सहकार्य गर्ने बताएका छन्। राष्ट्रिय सुरक्षा वा एनभिडियाको गोप्य सूचना चुहिएको कुनै प्रमाण नभेटिएको दाबी गर्दै कम्पनीले आन्तरिक छानबिन र निर्यात नियन्त्रण कानुनको पालना परीक्षण गर्न अमेरिकी कानुन फर्मसमेत नियुक्त गरेको छ। यसअघि गत वर्ष मेगास्पिडलाई एनभिडियाका अत्याधुनिक चिप अवैध रूपमा चीन पठाएको आरोप लागेको थियो, जसलाई कम्पनीले अस्वीकार गर्दै आएको छ।
यसैबीच, एनभिडियाको सञ्चालक समितिले पनि यसबारे छलफल गर्न बैठक बोलाएको छ। चीनले भने हुआङलाई फसाउन खोजेको आरोप अस्वीकार गरेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) चिप उत्पादनमा विश्वकै अग्रणी कम्पनी एनभिडियाका सीईओ हुआङले चीनमा चिप बिक्री गर्न अमेरिकी सरकारसँग पैरवी गर्दै आएका छन्।