भक्तपुरको पाँचतल्ले मन्दिर क्षेत्रमा पटाका पड्काउँदा सम्पदा र स्वास्थ्य जोखिममा
- २६ कार्तिक २०८३
- १ मिनेटको पढाई
विश्वसम्पदा सूचीमा रहेको भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र स्थानीयको स्वास्थ्य जोखिममा परेको छ। मङ्गलबार नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रमका सहभागी र पर्यटकले राति अबेरसम्म मन्दिर नजिकै सयौँ पटाका पड्काएका थिए।
पटाकाको आगोको झिल्कोले सयौँ वर्ष पुराना काठका मन्दिर र संरचनामा आगलागी हुने डर बढेको स्थानीयले बताए। धुवाँ र चर्को आवाजले श्वास फेर्न गाह्रो हुनुका साथै राति सुत्न समेत समस्या भएको उनीहरुको गुनासो छ। पटाका पड्काउने क्रममा बच्चा बोकेकी एक महिलाको कपडामा आगो अड्किए पनि समयमै होस पुर्याउँदा ठूलो दुर्घटना भने भएन।
मन्दिर जस्तो संवेदनशील ठाउँमा बारुद पड्काएको भन्दै स्थानीयले कडा विरोध गरेका छन्। उनीहरुले भिडियो हेरेर दोषीलाई कारबाही गर्न माग समेत गरे। घटनास्थलमा प्रहरी भए पनि भीड धेरै भएकाले पटाका पड्काउन रोक्न नसकेको बताए। चाडपर्वको नाममा सम्पदा र जनस्वास्थ्यमा खेलबाड नगर्न स्थानीयले सचेत गराएका छन्।