जलवायु सङ्कटले विश्वको क्षमता नाघ्दै छ : महासचिव गुटेरेस
- २६ कार्तिक २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको तयारीभन्दा निकै छिटो गतिमा बढिरहेको बताएका छन्। टर्कीको अन्ताल्यामा भएको जलवायु सम्मेलनमा बोल्दै उनले ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई छिटो अघि बढाउन विश्वका नेताहरुलाई आग्रह गरे।
सन् २०२५ मा ग्यास उत्सर्जन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको र पछिल्ला चार वर्ष विश्वकै सबैभन्दा तातो वर्ष बनेको उनले जानकारी दिए। पेट्रोलियम पदार्थको व्यापारबाट केही समूहले ठूलो नाफा कमाए पनि त्यसको सजाय भने सिंगो विश्वले भोग्नुपरेको उनको भनाइ छ।
गुटेरेसले अब नवीकरणीय ऊर्जाको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिए। विकासशील देशलाई स्वच्छ ऊर्जा प्रयोग गर्नका लागि आवश्यक पैसा र प्रविधि उपलब्ध गराउनुपर्ने उनले बताए। धेरै नाफा कमाउने ठूला कम्पनीले नै जलवायु क्षतिको खर्च व्यहोर्नुपर्ने उनको तर्क छ।
साथै, उनले तापक्रम वृद्धिलाई रोक्न र जलवायु परिवर्तनका असरबाट मानिसलाई बचाउन सबै देश मिलेर काम गर्नुपर्नेमा जोड दिए।