चिलीमा ४१ वर्षपछि आमा र चोरी भएका छोराहरुको भेट
- २६ कार्तिक २०८३
- १ मिनेटको पढाई
चिलीमा ४१ वर्षअघि अस्पतालबाटै खोसेर अमेरिका पुर्याइएका दुई दाजुभाइले आफ्नी जन्मदिने आमालाई भेटेका छन्। ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले आफ्ना छोराहरु ४१ वर्षीय टिम रोलनिक र ३७ वर्षीय ट्राभिस मर्डोकलाई चिलीको सान्टियागोमा भेटेकी हुन्।
यी दाजुभाइ अमेरिकामा अर्कै परिवारमा हुर्किएका थिए। सन् २०२० मा डिएनए परीक्षणबाट टिमले आफ्नो वास्तविक परिवार चिलीमा रहेको पत्ता लगाएका थिए। त्यसपछि खोजी गर्दा उनले आफ्ना भाइहरु पनि अमेरिकामै रहेको थाहा पाए। सडक दुर्घटनामा घाइते भएका कारण अर्का भाइ क्रिस भने आमालाई भेट्न चिली जान सकेनन्।
चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा गरिब महिलाहरुलाई धम्क्याएर र झुक्याएर करिब २० हजार बालबालिका यसरी नै अरुलाई जिम्मा लगाएको तथ्यांक छ। गरिबीको चपेटामा रहेकी टेरेसिटाका छोराहरु पनि अस्पतालबाटै खोसिएका थिए। लामो समयपछि छोराहरुलाई भेट्न पाउँदा आफूले निकै खुसी महसुस गरेको उनले बताइन्। छोराहरुले पनि विगतको दुःख भुलेर अब परिवारसँग नयाँ सम्झना बनाउँदै अघि बढ्ने बताएका छन्।