ट्रम्पले बिबिसीविरुद्ध हालेको मानहानि मुद्दा अघि बढ्ने
- २५ कार्तिक २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था (बिबिसी) विरुद्ध हालेको अर्बौं डलरको मानहानि मुद्दा अघि बढ्ने भएको छ। सङ्घीय न्यायाधीशले यो मुद्दा खारेज गर्न बिबिसीले गरेको मागलाई अस्वीकार गरिदिएका छन्।
सन् २०२१ को जनवरी ६ मा क्यापिटल भवनमा भएको आक्रमणअघि आफूले दिएको भाषणलाई बिबिसीले भ्रामक रूपमा सम्पादन गरेको ट्रम्पको आरोप छ। भाषण सम्पादन गरेर आफूले समर्थकलाई हिंसामा उक्साएको देखाउन खोजिएको भन्दै उनले बिबिसीसँग कम्तीमा पाँच अर्ब डलर क्षतिपूर्ति माग गरेका छन्।
न्यायाधीश जेफ्री टी कुन्जले मानहानिको दाबी अघि बढाउन अनुमति दिए पनि फ्लोरिडाको उपभोक्ता संरक्षण कानुनअन्तर्गतको दाबी भने खारेज गरेका छन्। बिबिसीले आफ्नो वृत्तचित्रको सम्पादनलाई लिएर माफी मागे पनि ट्रम्पलाई वास्तवमै क्षति पुगेको कुरा भने अस्वीकार गर्दै आएको छ।
अदालतको यो निर्णयलाई ट्रम्पले आफ्नो ‘ठूलो विजय’ भनेका छन्। उनले अमेरिकी जनतालाई धोका दिन खोज्नेहरूविरुद्ध आफू निरन्तर लडिरहने बताएका छन्। यसअघि अदालतले उनलाई आउँदो डिसेम्बर ११ भित्र यसै मुद्दामा बयान दिन उपस्थित हुन आदेश दिएको थियो। तोकिएको समयमा उपस्थित नभए मुद्दा खारेज हुन सक्ने चेतावनीसमेत अदालतले दिएको छ।