ममता काफ्ले भट्ट हत्या मुद्दा : आमाले अदालतमा भनिन्– मेरी छोरी आत्महत्या गर्ने खालकी थिइनन्
- २४ कार्तिक २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- दुई वर्षभन्दा बढी समयदेखि बेपत्ता ममता काफ्ले भट्टको हत्या मुद्दामा उनका आमा र भाइले सोमबार अदालतमा गवाही दिएका छन्। नरेश भट्टले ममताले आत्महत्या गरेको र आफूले मृत शरीर फेला पारेपछि टुक्रा टुक्रा पारेर फालेको दाबी गरेपछि सरकारी पक्षले उनीहरूलाई फेरि बयानका लागि बोलाएको थियो।
ममताकी आमा गीता काफ्लेले नेपाली दोभाषेमार्फत अदालतमा भनिन्, “मेरी छोरी त्यस्ती छैन। ऊ धेरै बलियो र पढेलेखेकी छ। उसले सधैं संघर्ष गरेर बाँच्छु भन्थी। मैले कहिल्यै सोचिनँ कि उसले आत्महत्या गर्छे।”
ममताका भाइ महेश काफ्लेले पनि दिदीले आत्महत्या गर्ने कुरा अस्विकार गर्दै ११ महिनाकी छोरीलाई छाडेर कतै नजाने बताए। उनले भने, “ऊ आत्महत्या गर्ने केटी होइन, र उसले आफ्नी छोरीलाई धेरै माया गर्थी।”
बचाउ पक्षका वकिलले महेशलाई जनवरी २०२५ को एउटा भिडियो देखाएका थिए, जसमा उनले अंग्रेजीमा सोधिएको प्रश्नमा ममताले आफैंलाई चोट पुर्याउन सक्ने कुरामा ‘हो’ भनेका थिए। तर, महेशले त्यो बेला दोभाषे नभएको र अंग्रेजी भाषा राम्ररी नबुझेका कारण त्यसो भनेको स्पष्ट पारे। उनले दिदीको मन धेरै पटक दुखेको अर्थमा आफूले त्यसो भनेको बताए।
महेशले फेब्रुअरी २०२४ मा ममताले आफ्नो अनुहारमा चोट लागेको तस्बिर पठाएको र आफू सुरक्षित नरहेको बताएको पनि अदालतलाई जानकारी दिए।
मंगलबार दुवै पक्षको अन्तिम बहसपछि जुरीले यस मुद्दामा निर्णय लिन सुरु गर्ने बताइएको छ।