न्युयोर्क सहरमा जाडो मौसमको नयाँ तयारी: मेयर ममदानीद्वारा २.५ करोड डलरको आपतकालीन योजना सार्वजनिक
- २४ कार्तिक २०८३
- २ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्क सहरका मेयर जोहरान ममदानीले आगामी जाडो मौसमको सम्भावित जोखिमलाई मध्यनजर गर्दै २.५ करोड डलर बराबरको परिमार्जित ‘कोड ब्लु’ आपतकालीन योजना सार्वजनिक गरेका छन्। गत वर्षको अत्यधिक चिसोका कारण कम्तीमा २० जनाको मृत्यु हुनुका साथै हिउँ पन्छाउने काम प्रभावकारी नभएको भन्दै सहरले पुरानो रणनीतिलाई परिवर्तन गरेर यो नयाँ र विस्तारित योजना ल्याएको हो।
यस नयाँ योजनाअन्तर्गत सडकमा रहेका घरबारविहीन मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याउन विशेष प्राथमिकता दिइएको छ। यसका लागि ३ सयभन्दा बढी स्वयंसेवकहरू सहरका प्रत्येक ब्लकमा खटिनेछन् भने ६ सय वटा नयाँ आश्रय स्थल (लो ब्यारियर बेड) हरू थपिएका छन्। यसका साथै, जोखिममा परेकाहरूलाई सुरक्षित र न्यानो स्थानमा पुर्याउन स्वास्थ्य सेवा र यातायातको सुविधासहितका ५५ वटा ‘वार्म मोबाइल युनिट’ सञ्चालनमा ल्याइनेछ, जसमा स्वास्थ्य जाँचका लागि आवश्यक नर्सहरू खटिनेछन्।
जाडोमा हिउँ पन्छाउने कार्यलाई छिटो र प्रभावकारी बनाउन बेल्चाको मात्र भर नपरी १ सय २० वटा साना स्नो ब्लोअर मेसिनहरू समेत खरिद गरिएका छन्। यसले फुटपाथ छिटो खुलाउन सहज बनाउनेछ। त्यस्तै, आवास तथा अपार्टमेन्टहरूमा पर्याप्त तापक्रम नभएको गुनासोलाई अब व्यक्तिगत रूपमै सम्बोधन गरिने भएको छ। घरधनीले तापक्रमको उचित व्यवस्था नगरेमा सरकारी टोलीले नै मर्मत गरी त्यसको सम्पूर्ण बिल घरधनीलाई पठाउने र नियम उल्लङ्घन गरिरहनेलाई जरिवाना समेत तिराउने कडा नियम लागू गरिएको छ। सार्वजनिक आवासहरूको हकमा भने सयौँ बोइलर तथा तातो पानीका प्रणालीहरूको मर्मत सम्भार गरिनुका साथै आपतकालीन अवस्थाका लागि २२ वटा मोबाइल बोइलर तयारी हालतमा राखिएका छन्।
अर्कोतर्फ, अत्यधिक हिउँ परेको बेला सार्वजनिक विद्यालयहरूमा बिदा दिने वा अनलाइन कक्षा सञ्चालन गर्ने भन्ने विषय मौसमको अवस्था हेरेर मात्रै तय गरिने मेयर ममदानीले स्पष्ट पारेका छन्। राज्यले तोकेको १८० दिनको अनिवार्य पढाइ पुर्याउनुपर्ने र शैक्षिक क्यालेन्डरमा बिदाहरू थपिएका कारण परम्परागत ‘स्नो-डे’ (हिउँ बिदा) दिने कुरामा यसपटक धेरै लचिलोपन नहुने उनले बताएका छन्।