२४ कार्तिक २०८३, मङ्लबार
10 November 2026, Tuesday

निर्वासन नीति धेरै कठोर भएको ट्रम्पको स्वीकारोक्ति, डेमोक्र्याटसँग सहकार्य गर्ने संकेत

निर्वासन नीति धेरै कठोर भएको ट्रम्पको स्वीकारोक्ति, डेमोक्र्याटसँग सहकार्य गर्ने संकेत

न्युयोर्क- भर्खरै सम्पन्न मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले सिनेट र तल्लो सदन (हाउस) दुवैको नियन्त्रण गुमाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनको निर्वासन (डिपोर्टेसन) नीति धेरै आक्रामक भएको हुन सक्ने बताएका छन्। सीबीएसको ‘६० मिनट्स’ कार्यक्रममा उनले चुनाव हार्नुको एउटा कारण यही नीति हुन सक्ने स्वीकार्दै, नयाँ संसद्मा डेमोक्र्याटहरूसँग अध्यागमन सम्झौतामा मिलेर काम गर्न सक्ने संकेत गरेका छन्।

यद्यपि, ट्रम्पले कुराकानीमा कुनै ठोस योजना भने खुलाएनन्। तर, अन्तर्वार्ता दिएको केही समयपछि नै उनले आफ्नो कठोर अध्यागमन नीतिका मुख्य योजनाकार स्टिफन मिलरलाई ह्वाइट हाउसको नयाँ ‘चिफ अफ स्टाफ’ नियुक्त गरे। यस कदमलाई लिएर सिनेटका डेमोक्र्याटिक नेता चक सुमरले आलोचना गर्दै भनेका छन्, “यो नीति सच्याइएको होइन, उल्टै त्यसका जिम्मेवार व्यक्तिलाई ह्वाइट हाउसको नेतृत्व दिएर बढुवा गरिएको हो।”

ट्रम्पको कार्यकालमा अध्यागमनमा गरिएको कडाइ र धरपकडका कारण अमेरिकाका धेरै सहरहरूमा गिरफ्तारी बढेको थियो। यसै क्रममा भएका विरोध प्रदर्शनमा दुई अमेरिकी नागरिक—रेनी गुड र एलेक्स प्रेटी—को संघीय अधिकारीहरूको कारबाहीमा मृत्यु भएको थियो। डेमोक्र्याटहरूले अब नयाँ संसद्मा अध्यागमन तथा भन्सार प्रवर्तन (ICE) र आन्तरिक सुरक्षा विभागको निगरानीलाई प्राथमिकता दिने बताएका छन्।

अन्तर्वार्तामा ट्रम्पले “हत्यारा” र “लागूऔषध कारोबारी” हरूलाई देश निकाला गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याए। तर, ल्यान्डस्केपिङ वा होटल जस्ता क्षेत्रमा इमानदारीपूर्वक काम गरिरहेका र कर तिरिरहेका अन्य आप्रवासीहरूलाई बस्न दिने विषयमा भने आफू सम्झौता गर्न तयार रहेको संकेत दिए।

सन् २०२८ को राष्ट्रपतीय चुनावका लागि आफ्नो उत्तराधिकारी छान्ने विषयमा ट्रम्पले आफू तटस्थ बस्न सक्ने बताए। सम्भावित उमेदवारका रूपमा उनले वर्तमान उपराष्ट्रपति जेडी भान्सको सट्टा विदेशमन्त्री मार्को रुबियोको नाम लिँदै उनलाई “उत्कृष्ट” भने, तर अन्य धेरै राम्रा उम्मेदवारहरू भएकाले आफू यस मामिलामा संलग्न नहुने बताए।

त्यसैगरी, कार्यकालमा आफ्नो व्यक्तिगत सम्पत्ति ३ अर्ब डलरले बढेको भन्ने प्रश्नलाई पन्छाउँदै ट्रम्पले आफूले त्यसबारे ध्यान नदिएको र पारिवारिक व्यवसाय छोराहरूले हेरिरहेको बताए।

आफ्ना राजनीतिक विरोधीहरूलाई माफ गर्न सक्नुहुन्छ भन्ने प्रश्नको जवाफमा ट्रम्पले स्पष्ट रूपमा भने, “म सायद त्यसो गर्न सक्दिनँ, किनकि म मेरा केही शत्रुहरूलाई घृणा गर्छु र सधैं गरिरहनेछु।”